कञ्चनपुर घटना प्रकरण: आन्दोलन मत्थर पार्न चारबुँदे सहमति



नेपाल समाचारपत्र, काठमाडौं
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई हप्ता दिन नबित्दै एक बालकको हत्या भएपछि घटनाले उग्र रुप लिएको छ । घटना उत्तेजित बन्दै गएपछि आन्दोलनका क्रममा कञ्चनपुरमा सन्नी खुनाको ज्यान गएको हो ।

पन्तको बलात्कारपछि हत्या विरोधमा भएको आन्दोलनलाई मत्थर पार्न सर्वदलीय बैठक बसेको छ । बैठकले सन्नी खुनालाई शहीद घोषणा गर्न आग्रह गरेको छ ।

पन्तको हत्यापछि उत्पन्न समस्या समाधान गर्न शनिबार बसेको सर्वदलीय बैठकमा चारबुँदे सहमति भएको छ । घटनाबारे पुनः छानविन गरी दोषीलाई कारबाही गर्ने, शुक्रबार प्रहरीको गोली लागी मृत्यु भएका किशोरलाई शहीद घोषणा गर्न सरकारसँग अनुरोध गर्ने र मृतकका परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको हो ।

घाइतेहरुको उपचार गर्ने र घाइते भएकामध्ये उपचारपछि अशक्त भएमा सरकारले जीविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्ने सहमतिमा उल्लेख छ । प्रहरी दमनबारे छानविन गर्ने र कारबाहीको लागि पहल गर्ने तथा भविष्यमा कुनै पनि अप्रिय घटना दोहोरिन नदिने सहमति भएको छ ।

निर्मला प्रकरणलाई लिएर महेन्द्रनगर पाँच दिनदेखि तनावग्रस्त छ ।
घटनाको थप अनुसन्धान गर्न प्रहरीले बबिता बम र रोशनी बमलाई पक्राउ गरेको छ । अनुसन्धानका लागि बविता र रोशनीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी प्रमुख कुवेर कठायतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

पन्त बमकै घरमा गृहकार्य गर्न गएको समयदेखि बेपत्ता भएको प्रहरीले बताएको छ । निर्मलाको शव उनीहरुको घर भन्दा सात सय मिटर पर उखुबारीमा भेटिएको थियो । बम दिदीबहिनीलाई प्रहरीले भीमदत्त नगरपालिका–१८ स्थित घरबाट पक्राउ गरेको हो । निर्मलाका आफन्त र स्थानीयले बमको घरबाटै अनुसन्धान गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
यसैबीच पन्तको हत्याविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।

सामाजिक सञ्जालबाट नागरिक भेला भएर निर्मलाको हत्या गर्ने वास्तविक दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रहरी प्रशासनले घटना लुकाउन थालेको भन्दै दोषी पत्ता लगाई कारबाही गरिनुपर्ने उनीहरुको माग छ । प्रदर्शनमा प्रहरी प्रशासन दोषीलाई कठघरामा ल्याउन मौन भएको भन्दै व्यंग्यात्मक रुपमा कलाकर्मीले नाटक समेत प्रस्तुत गरेका थिए ।

गृह मन्त्रालयले कञ्चनपुरका एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वार्टरलाई निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेन्द्र थापाका अनुसार डीएसपी भन्दा माथिल्लो तहको विषयमा आफूहरुले निलम्बन गर्न नमिल्ने भएकाले यस विषयमा जानकारी नभएको बताउनुभयो । कञ्चनपुरमा प्रहरी उपरीक्षकका रुपमा कुवेर कठायतलाई खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्