लोपोन्मुख बनकरियालाई प्रदेश सरकारको आवास



हेटौंडा ।
मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा मात्र बस्दै आएका देशकै लोपोन्मुख जाति बनकरियालाई प्रदेश–३ सरकारले ब्यवस्थित घर बनाइदिने भएको छ ।
प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार मुसेधापमा बनकरिया बस्ती अवलोकनपछि उनीहरुलाई मनहरी गाउँपालिकाकै कुनै ब्यवस्थित स्थानमा सार्ने आश्वासन दिनुभएको हो । बनकरियाका लागि राम्रो घर, खेलमैदान, विद्यालय, खानेपानी र बिजुली आदिको सुविधासहित घर निर्माण गरिने उहाँले आश्वासन दिनुभयो ।
बनकरिया जातिका लागि छुट्टै बस्ती बसाउन प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । प्रदेश सरकारले गाउँपालिकाले खोजेको मनहरी–६, जोगीताल सुनाचुरी क्षेत्रको जग्गामा एकीकृत बस्ती निर्माण गरेर उनीहरुलाई राख्ने तयारी थालिएको हो ।
प्रदेश सरकारले एकीकृत बस्ती निर्माणका लागि यस वर्षको बजेटमा रकम छुट्याएको छ । बनकरियाले घर निर्माण गरिदिएमा जंगलको बस्ती छाडी एकीकृत बस्तीमा बस्ने इच्छा जनाएका छन् । बनकरियालाई एकीकृत बस्तीमा केकसरी राख्न सकिन्छ भन्ने विषयमा अबलोकन गर्न मुख्यमन्त्री पौडेल बस्ती पुग्नुभएको हो ।

बनकरिया जाति मकवानपुरमा बसोबास गर्ने लोपोन्मुख जाति हो । झट्ट हेर्दा चेपाङजस्ता होचा रुपरंग शैली र रीतिरिवाजसमेत उस्तै भएका उनीहरु हाँडीखोलाको ट्वांग्रामा सामान्य घरबार बनाएर बसोबास गर्दछन् ।
गाउँमा बस्नुअघि उनीहरु चुरेघाँचमा बस्दथे भने उनीहरुलाई बनकरियाको नाममा नागरिकता प्रदान गरिएको छ । गणतन्त्र स्थापनापछि सरकारले बनकरियासहित १० लोपोन्मुख जातिलाई मूलधारमा ल्याउने उद्धेश्यले मासिक दुई हजार भत्ता उपलब्ध गराउँदै आएको छ । उनीहरु हाल १८ घरधुरीमा ७९ जनाजति रहेको अनुमान छ ।
हाँडीखोलाका बनकरियामध्ये ४ जनाले बनकरिया भाषा बोलेको भाषाविज्ञानका प्राध्यापक दानराज रेग्मीले प्रकाशमा ल्याएपछि उक्त कुरा नेपाल राजपत्रको बुलेटिनमा २००८ नोभेम्बर ८ मा प्रकाशन भएको थियो । आदिवासी बनकरिया जातिले मादल, मुरली, ढ्यांग्रो, ढोलक लामो समयदेखि आफ्नो सँस्कृतिका रुपमा अवलम्बन गर्दै आएका छन् ।

तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई एक साँझ बनकरिया बस्तीमा बास बस्नुभएको थियो । उहाँ स्थानीय सोमलाल बनकरियाको घरमा बास बस्नुभएको थियो । उहाँले बनकरियाकै घरको भुईंमा पलेंटी कँसेर पातमा खाना खानुभएको थियो ।
स्थानीयसँगको अन्तक्र्रियामा डा. भट्टराईले जनताआवास कार्यक्रमअन्तर्गत् घर निर्माण गर्न र लालपुर्जा उपलब्ध गराउन तत्काल पहल गर्ने बताउनुभएको थियो । डा. भट्टराईले आफू बसेको घरका मालिक सोमलाल बनकरियालाई १० हजार रुपियाँ नगद र दुईवटा ब्ल्यांकेट उपहारस्वरुप दिनुभएकोे थियो ।
जंगलमा नै जन्मे÷हुर्केका लोपोन्मुख बनकरिया २ दशकदेखि मुसेधापमा कतरे छाप्रा हालेर बस्दै आएका छन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका बनकरियालाई जिल्ला बन कार्यालय मकवानपुरले कबुलियती बन समूहअन्तर्गत् ९ हेक्टर जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा उनीहरु छाप्रो बनाएर बसेका छन् । बन कार्यालय

 

ले दिएको जमिनमा उनीहरु खनीखोस्री पेट भर्ने काम गर्दै आएका छन् ।
सरकारले बनकरिया समुदायलाई जनता आवास कार्यक्रमअन्तर्गत् घर निर्माण गर्न आर्थिक वर्ष २०६८÷०६९ देखि बजेट विनियोजन गर्दै आएको छ । तर, उनीहरुको स्वामित्वमा जमिन नभएकाले घर बनाउन नसकेकाले रकम फ्रिज हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्