टेलिमेडिसीनको सहयोगमा जटिल सल्यक्रिया



चिरञ्जीवी मास्के, दोलखा ।
सदरमुकाम चरिकोटमा रहेको प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) ले जिल्लामै पहिलो पटक टेलिमेडिसीन पद्धतिबाट जटिल सल्यक्रिया गरी एक बृद्धको ज्यान जोगाएको छ ।
आर्थिक अभावले उपचारको लागि काठमाडौँको सुविधासम्पन्न अस्पतालमा जान नसक्ने तर तत्काल सल्यक्रिया गर्नु पर्ने गुप्ताङ्ग क्यान्सरको चरणमा पुगेको भीमेश्वर नगरपालिका वडा नम्बर २ का ७२ बर्षिय बृद्ध कुसुम लामाको टेलिमेडिसीन पद्धतिबाट डा उदय कोईरालाको सल्लाहमा आपत्तकालिन जटिल सल्यक्रिया गरिएको प्रस्तावित चरिकोट अस्पतालका डा विनोद दंगालले बताए ।
अत्यन्त नाजुक अवस्थामा आएका कुसुमको गुप्ताङ्गको घाउ किरा समेत परेर क्यान्सरको चरणमा पुगिसकेको थियो तर उनी उपचारको लागि काठमाडौँ समेत जान नसक्ने र तत्काल उपचार नगरे उनको मृत्यु समेत हुनसक्ने अवस्था रहेकोले विरामीको छोरासंगको सल्लाहमा टेलिमेडिसीनको सहायताले आपत्कालीन सल्यक्रिया गरी उनको ज्यान बचाउन सकिएको डा दंगालको भनाई छ ।

टेलिमेडिसीन पद्धति अन्र्तगत अनलाईन भिडियो कन्फरेसन मार्फत विशेषज्ञ डा उदयको सहयोगमा आफ्नो नेतृत्वमा डा अमित शर्मा, नर्स खेमा स्वार र सुनिल यादव सहभागि टिमले जटिल र विशेषज्ञ सल्यक्रिया (युरो सर्जरी) सफलता पूर्वक गरिएको डा दंगालले बताए ।
अप्ठेरो ठाँउमा रोग लागेकोले लाज र आर्थिक अभावका कारण उपचार गर्न सकेको थिईन् । घाउ दुखेर पीडा हुदा रक्सी खाएर पीडा भुल्ने गरेको थिए चरिकोट प्रस्तावित अस्पतालले मलाई रोगबाट मुक्त गरिदियो – पीडित लामाले भने । चरिकोटको सरकारी अस्पतालमा यति राम्रो निशुल्क उपचार हुन्छ भन्ने कुरा आफुले कल्पना समेत नगरेको लामा बताउछन् । मेरो लागि अस्पताल र डा विनोद भगवान सरह भए – उनले भने ।

रोगले बुबाको गुप्ताङ्गबाट रगत नै आउन थालेपछि आफुले थाहा पाएर तत्काल प्रस्तावित चरिकोट अस्पताल ल्याएको र तत्काल उपचार गरेको पीडित कुसुमका छोरा पासाङ लामाले बताए । सुरुमा उपचार सम्भव नहुने भनेर फर्काउन लाग्दा डा विनोदले जोखिम मोलेर सफल सल्यक्रिया गरिदिएको पासाङको भनाई छ । अब बाँच्दैनन् भनरे घर फर्काउन लागेको बुबाको सफल सल्यक्रिया पछि अहिले मजाले खानेकुराहरु खाने र हिड्डुल गर्ने भएको पासाङले बताए ।

काठमाडौँको नेपाल रिर्सच एजुकेसन नेटर्वकको सहयोगमा न्याय हेल्थको व्यवस्थापनमा सञ्चालित प्रस्तावित चरिकोट अस्पतालले करिब एक बर्ष अघि देखि टेलिमेडिसीन पद्धतिले उपचार गर्दै आएको डा दंगालले बताए । यो पद्धतिबाट उपचार गर्दा काठमाडौँका विशेषज्ञ डाक्टरहरु रहेको सरकारी तथा नीजि अस्पतालसंग प्रत्यक्ष रुपमा विरामीको बारेमा संवाद हुने र अनलाईन मार्फत विशेषज्ञ डाक्टरहरुको समेत संलग्नतामा उपचार गरिने डा दंगालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्