पन्त हत्याको विरोधमा हेटौंडामा सर्वसाधारणको प्रदर्शन



हेटौंडा ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ निवासी १३ वर्षीया निर्मला पन्तका विषयमा प्रहरीले गरेको अनुसन्धानमाथि नै प्रश्न उठाउँदै हेटौंडामा सर्वसाधारणले प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जालबाट नागरिकहरु भेला भएर निर्मलाको हत्या गर्ने वास्तविक दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रहरी प्रशासनले घटना लुकाउन थालेको भन्दै दोषी पत्ता लगाएर कारबाही गरिनुपर्ने नागरिकको माग छ ।
किशोरीको बलात्कार गरी हत्या गर्ने अपराधीलाई उम्काउन खाजेको अनि आन्दोलनमा सहभागी किशोर सनी खुनालाई गाली हानेको भन्दै मुख्य बजार क्षेत्रमा प्रदर्शन भएको हो । मुख्य अपराधीलाई उन्मुक्ति दिइएको यहाँका नागरिक अगुवाको आरोप छ । प्रहरीले वास्तविक अपराधी लुकाएर मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएको उनीहरुको भनाइ छ ।
सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रदर्शनमा महिला हिंसा, बलात्कार, हत्यालगायत घटना दिनप्रतिदिन बढिरहँदा पनि शान्ति÷सुरक्षाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिएको थियो । आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी÷व्यवसायीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्