राजधानी र कर्मचारी चाँडै टुङ्गो लगाउः राष्ट्रिय सभा अध्यक्ष



मोतीराम तिमल्सिना, काभ्रे ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले जनतालाई सर्वाेपरी बनाउने गरी प्राप्त लोकतन्त्रलाई बलियो बनाउन जनताकै पक्षमा काम गर्न तीन वटै तहका सरकारलाई अनुरोध गरेका छन् । प्रदेश तहका राजधानी नहुँदा, कर्मचारी समायोजन नहुँदा प्रदेश र स्थानीय सरकारले गति लिन नसकेको उनले बताए ।
जिल्लाको पनौतीमा रहेको ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारीको उद्घाटन सभामा बोल्दै अध्यक्ष तिमल्सिनाले जनताले तिरेको करमा हुने भ्रष्टाचार, अनियमितताका कारण सिङ्गो करको दुरुपयोग हुने हो कि ? भन्ने आशंकाले जनताले कर प्रति प्रश्न उठाएको बताए । केहि स्थानीय सरकारले जन्म, मृत्यु तथा विपत्तीको सिफारिसमा समेत कर लिएकाले सबै स्थानीय सरकारहरु त्यस्तै हुन् कि ? भन्ने भ्रम पैदा भएकाले स्थानीय सरकारहरुले आय आर्जन हुने बाहेकका अन्य सिफारिसहरुलाई कर नलिन सुझाव अध्यक्ष तिमल्सिनाले सुझाव दिए । कर असुलीसँगै जनताले तिरेको करको सुविधा जनतालाई फर्काउने गरी काम गर्न अनुरोध गर्दै अध्यक्ष तिमिल्सनाले सरकारको काम ६ महिनामै मुल्याकंन गर्न नहुने स्पष्ट पारे । हरेक बस्तु र चिजको समय हुने बताउँदै अध्यक्ष तिमल्सिनाले सरकारले गरेको ६ महिने अवधीको कामलाई लिएर टिका टिप्पणी गर्नु सकारात्मक नभएको प्रष्ट पारे ।

‘हामी संसद टुङ्गयाउनु अघि सबै कानुनहरु तयार गरि सक्छौं’–अध्यक्ष तिमल्सिनाले भने–‘सरकार सबै कानुन बनाउने गरी अगाडी बढिरहेको छ , सरकारले प्रस्तुत गरेका सबै कानुनहरुलाई पास गरेर मात्रै संसदको अन्त्य हुनेछ ।’ स्थानीय, प्रदेश र केन्द्रिय सरकारले आवश्यक कानुन, कर्मचारी ब्यवस्थापन र अन्य ब्यवस्थापन गर्न समय लागेकाले जनता प्रति सरकारको दृष्टिकोण नकारात्मक बन्दै गएको अध्यक्ष तिमल्सिनाले बताए । सरकारले तत्काल राजधानीको टुङ्गो लगाउन, कर्मचारीहरुको ब्यवस्थापन गर्न र संविधान अनुसारका खारेज भएका कार्यलयहरुको स्थानीय सरकारसँग समायोजन गर्न अध्यक्ष तिमल्सिनाले आग्रह गरे । अस्थिर हुँदासम्म विकासले गति लिन सक्दैन, त्यसकारण त्यस्ता विषयलाई चाँडै टुङ्गो लगाएर मुलुकलाई सम्वृद्ध तर्फ लैजानु पर्नेमा उनले जोड दिए ।
सहकारी मार्फत नागरिकहरुको सेवा गर्नु पर्नेमा केहि सहकारीले विभिन्न वाहनामा चर्काे ब्याज लिएर सहकारीको मर्म विपरित काम गरिरहेको अध्यक्ष तिमल्सिनाले बताए । ओदान जस्तै सहकारी सरकारको तीन खम्बे अर्थ नीतिको एउटा खम्बा भएकाले ओदानको एउटा खुट्टा नहुँदा ओदानको अर्थ नभए जस्तो सहकारीको खम्बा मजबुद नहुँदा राष्ट्रिय अर्थतन्त्र धरासयी बन्ने भएकाले सहकारीको मर्म अनुसारको काम गर्न अध्यक्ष तिमल्सिनाले सुझाव दिए । कृषि उपज, उद्यम, ब्यापारमा लगानी गरी मुनाफा लिने तर शेयर सदस्यलाई सरलीकरण गरेर सहज बनाउने काममा सहकारी लाग्नु पर्नेमा उनले जोड दिए । अध्यक्ष उद्धव सापकोटाले सहकारीले नगर र आसपासका क्षेत्रमा सेवा पु¥याउँदै सहकारी सदस्यहरुको आर्थिक उन्नतीमा जोड दिएको बताए ।
बाल सदस्य ९ सय ७० सहित साढे ८ हजार शेयर सदस्य रहेको सहकारीले ३ करोड ४० लाख शेयर पुँजी संकलन गरेको छ भने ३२ करोड ८४ लाख बचत संकलन गरी ३० करोड ऋण लगानी गरेको छ । सचिव दीपकप्रसाद दाहाल, कोषाध्यक्ष पूर्णराम तुलाधर, लेखा संयोजक भिमसेन केसी र उपाध्यक्ष कान्छीमाया थापाले सहकारीले पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई र चन्द्र लामा, उपप्रमुख गिता बञ्जारा, नेफ्सकुनका उपाध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी सघंका अध्यक्ष विनोद पराजुली, काभ्रेपलाञ्चोक जिल्ला बचतका उपाध्यक्ष इन्द्र अधिकारी, विभिन्न सहकारीका अध्यक्षहरु, वडा अध्यक्षहरु लगायतले पनौती क्षेत्रमा रहेको कारोवार शुरु गरेको ज्योती मिर्मिरे सहकारीले स्थानीय क्षेत्रमा पु¥याएको आर्थिक योगदानको चर्चा गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्