मोना–बेनी–लभ्लीहिल पदमार्ग शिलान्यास



प्रताप बानियाँ, म्याग्दी ।
र्यटकीयस्थल लभ्लीहिल पुग्नका लागि पदमार्ग बनाइने भएको छ । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिल भ्रमण गर्न सदरमुकाम बेनीबजारदेखि पर्यटकीय क्षेत्र लभ्लीहिल पुग्न पक्की पदमार्ग निर्माण गर्न लागिएको हो ।
बेनी नगरपालिकाको कार्यालय, म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण हुन लागेको बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने पदमार्गको शुक्रबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मोना पदमार्ग निर्माण समितिका संयोजक ओमनारायण जुग्जाली र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले शिलान्यास गरेका छन् ।
प्रवासी नेपालीहरुलाई साझेदार बनाएर नयाँ अवधारणामा सञ्चालन गर्न लागिएको योजनालाई मोना–बेनी–लभ्लीहिल पदमार्ग योजना नामाकरण गरिएको छ । म्याग्दी भ्रमण वर्ष–२०७५ को अवसर पारेर सरकारी निकाय, निजी क्षेत्र र प्रवासीको संयुक्त साझेदारीमा पर्यटन पूर्वाधार योजना अन्तर्गत पदमार्ग निर्माण गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिएका छन् । कुल ५७ लाख आठहजार २६० रुपैयाँ लागत अनुमान गरिएको ५१८ मिटर लम्बाई र १.८ मिटर चौडाइको दायाँबाया दुवैतर्फ रेलिङ जडान गरिने भएको छ ।
बेनी नगरपालिका, मोना र उवासंघले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर समेत गरिएको जनाइएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठले मोना–बेनी–लभ्लीहिल पदमार्गले जिल्लाको पर्यटन विकासमा सहयोगी भूमिका खेल्ने बताउँदै नगरपालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार हुने बताए । उनले पूर्वाधार विस्तारमा नगरपालिकामार्फत आवश्यक पहल गरिने बताउँदै पर्यटनमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
लभ्लीहिलमा बेनी नगरपालिका, पर्यटन कार्यालय र स्थानीयको सहयोगमा गोलघर, रेलिङ र बस्नका लागि आराम बेन्च बनाइएको छ । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य पुलहाश्रम, गुफाको डाँडो, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।
बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार र नयाँ बस्तीको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्