रोजगारी र शिक्षाको पहुँच कपिलवस्तुको आवश्यकताः प्रजिअ पोख्रेल



सीताराम चौधरी, कपिलवस्तु ।
आम जनतालाई अनुभूति हुने किसिमको शान्ति सुव्यवस्था प्रदान गरिने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताउनुभएको छ ।
व्यापार संघ कपिलवस्तुद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पोख्रेलले समग्र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्र्ने सुरक्षा नीति बनाएको जनाउँदै ढुक्क भएर व्यवसाय संचालन गर्न व्यवसायीलाई अपिल गर्नुभयो । व्यापारी व्यवसायीलाई थप उर्जा प्रदान गर्दै उहाँले भन्नुभयो –अहिले नै आत्तिहाल्नु पर्ने अवस्था छैन ।
हालै पदभार सम्हाल्नुभएका प्रजिअ पोख्रेलले गलत प्रवृत्तिलाई निरुत्साहित गर्न आफू हरपल तत्पर रहेको उद्घोष गर्नुभयो । “व्यापार त ‘गिभ’ एण्ड ‘टेक’ मात्र हो, कृषि नै प्रमुख हो ।” उहाँले भन्नुभयो –उत्पादन र आर्जनमा बढी जोड दिनुपर्छ । रोजगारी र शिक्षाको पहुँच कपिलवस्तु जिल्लाको आवश्यकता रहेको बताउँदै मुलुकलाई समृद्ध बनाउन उद्योग बढाउनुपर्ने उहाँले तर्क राख्नुभयो ।
उद्योगपतिलाई मुख्य चार कुरामा विशेष ध्यान दिन सुझाउँदै उहाँले भन्नुभयो –“दर्ता नगरी केही पनि काम नगर्नुस् । मेरो उद्योग छ भनेर जनतासँग जति मन लाग्यो त्यति नलिनुस् । उचित मुनाफा लिनुस् । नाफामा इमान्दारीपूर्वक कर तिर्नुस् । तपाईले विक्री वितरण गर्ने सेवा तथा वस्तु तपाईं आफूले खान सक्छु भन्ने चिज मात्र बेच्नुस् ।”

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख, उद्योगी, व्यवसायीले प्रशासनबाट समय समयमा अनुगमन र नियमन गर्नुपर्ने ध्यानाकर्षण गराएका थिए । साथै नयाँ मुलुकी ऐनले मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थालाई निकै समस्या परेको सहभागीले दर्शाएका थिए । कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रको वस्तुस्थितिबारे प्रकाश पार्दै शिवराजलाई आद्योगिक क्षेत्र बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । आयोजक संस्था व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले उद्योगी, व्यापारीहरुबीच स्वस्थ प्रतिष्पर्धा हुन आवश्यक रहेको बताउनुभयो । साथै शान्तिपूर्ण तरिकाले व्यापार व्यवसाय संचालन गर्ने वातावरण सृजना गरिदिन उहाँले प्रशासनसँग आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारु, इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नरबहादुर खड्का, शिवराज नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार यादव, राष्ट्रिय अनुसन्धान विभाग कपिलवस्तुका प्रमुख नन्द प्रसाद धिताल, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत शेषकान्त पौडेल लगायत, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापार संघका पदाधिकारी, उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्