नक्कली गुट्खा र सूर्ती छ्याप्छ्र्याप्ती, ३ करोडको बरामद



काठमाडौं, (नेस)
बजारमा नक्कली गुट्खा र सूर्ती छ्याप्छ्र्याप्ती रुपमा भेटिन थालेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा नक्कली सूर्ती र गुट्खा उत्पादन गर्ने कारखाना नै फेला परेको थियो।

विभागको अनुगमन टोलीले काठमाडौंको गोलढुंगामा रहेको शुभकामना सूर्ती उद्योग र काठमाडौंकै तार्केश्वर नगरपालिका लोलाङमा रहेको शुभकामना सूर्ती उद्योगले नक्कली सूर्ती तथा गुट्खा उत्पादन गर्ने गरेको भेटिएको थियो। ती दुईवटै उद्योगमा व्यवसाय दर्तासँग सम्बन्धित कागजात नभएको तथा अन्य उद्योगको ब्रान्डको नक्कली सूर्ती तथा गुट्खा प्याकिङ गरी बिक्री गर्ने गरेको विभागले जनाएको छ। अनुगमनपछि विभागको टोलीले व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरू नभएको तथा अन्य उद्योगको ब्रान्डको नक्कली सूर्ती तथा गुट्खा उत्पादन र प्याकिङ गर्ने मेसिन १ थान, र्यापरहरू र केही बोरा कच्चा पदार्थ बरामद गरी उद्योगमा शिलबन्दी गरेको छ।

त्यसैगरी प्रहरीले पनि अवैध रुपमा नक्कली करेन्ट गुट्खा उत्पादन गर्ने दुई कारखानामा छापा मारेको जनाएको छ। विगत केही समयदेखि गुट्खाको नक्कली उत्पादन तथा नक्कली बिल बिजक जारी गरी बिक्री बितरण हुँदै आएको सुराकीको आधारमा काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा प्रहरिले छापा मारेको हो।काठमाडौं उपत्यका प्रहरी प्रमुख एसएसपी बसन्त लामाको अगुवाईमा थानकोट प्रहरीका डिएसपी नवरत्न पौडेललगायतका टोलीले तारकेश्वर नगरपालिका–१०, बोहराटार र सितापाइलास्थित उद्योग तथा कालीमाटी र चमतिस्थित गोदाममा छापा मार्दा नक्कली करेन्ट गुट्खा बनाउने मेसिन, कच्चा पदार्थ, खाली खोल, नक्कली स्टिकर, ठूलो मारिमाणमा तयारी अवस्थाका नक्कली गुट्खा बरामद गरेको छ।

त्यसैगरी थानकोट चेकपोष्टमा बा १० च ४७२२ नम्बरको मारुती भ्यानबाट बजारमा बिक्री वितरणका लागि लैजाँदै गर्दाको अवस्थामा उल्लेख्य मात्रामा तयारी अवस्थामा रहेका नक्कली करेन्ट गुट्खा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका ती सूर्तीजन्य पदार्थ करिब ३ करोड रुपियाँ बराबरको रहेको बताइएको छ। अवैध रुपमा गुट्खा उद्योग सञ्चालन गर्दै आएका दुई भारतीय नागरिक पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिनुभएको छ।

त्यस्तैी उपत्यका बाहिर पनि इटहरीमा सञ्चालनमा रहेको ओम ट्रेडर्सका सञ्चालक शिवनारायण साहले श्रीराम टोबाको उद्योग प्राली द्धारा उत्पादित भोला गोल्ड गुट्खा आफ्नै नाममा रहेको को १ च ७३८३ नम्बरको टाटा सुमोमार्फत बजारमा बिक्री बितरण गरिरहेकै अवस्थामा राजस्व अनुसन्धान कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

शिवनारायण साह पक्राउ परेकै दिन उनका दाई नागेश्वर साहले सञ्चालन गर्दै आएको राजविराजस्थित नागमणि किरानामा छापा मार्दा नक्कली स्टिकर र नक्कली भोला गोल्ड गुट्खाहरू फेला परेको थियो। उनीमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्