शेयरमा लगानीकर्ताको ३७ अर्ब गुम्यो



नेपाल समाचारपत्र
काठमाडौं
लाभांश पर्खिएर बसेका लगानीकर्ता उत्साहित हुन नसक्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) यस साताभरी नै ओरालो लाग्यो। अघिल्लो साता केही सुधारको संकेत देखिए पनि यथार्थ त्योभन्दा फरक हुन गयो।

बजार घट्नुको कुनै स्पष्ट कारण नदेखिए पनि लगानीकर्ताको मनोवल कमजोर हुँदा नेप्सेम गिरावट आएको तथा बजारमा उच्च शेयर आपूर्ति, ब्याजदर महँगो र सरकारको प्रष्ट धारणा नआउनुनै मुख्य कारण मानिँदै आएको छ। यस साता नेप्सेमा १८५ कम्पनीको शेयर खरिद बिक्री भएको छ। १६ हजार ६२० पटक भएको कारोबारबाट १ अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपियाँबराबरमा ४४ लाख २१ हजार ९ सय ५० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

यस साताको कारोबार रकम गत साताको भन्दा १७ दशमलव ८४ प्रतिशत कम हो। गत साता १८५ कम्पनीको २२ हजार ५२० पटक भएको कारोबारबाट १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपियाँबराबरमा ४५ लाख २ हजार ४ सय ५० कित्ता शेयर खरिद बिक्री भएको थियो। त्यस्तै यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव ७९ अंकले घटेर अन्तिम दिन ११७८ दशमलव ५० अंकमा पुगेको छ। यस साता लगानीकताृले ३७ अर्ब ४० करोड ९८ लाख ३० हजार रुपियाँ गुमाएका छन्। अघिल्लो साता बजार बन्द हुँदा १४ खर्ब ३९ अर्ब ४४ करोड ९१ लाख ६० हजार रुपियाँको कुल पुँजीकरण थियो। त्यो घटेर १४ खर्ब २ अर्ब ३९ करोड ३ लाख ३० हजार रुपियाँमा झरेको छ। यस साता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ३ दशमलव ५४ अंकले घटेर २४८ दशमलव ९९ अंकमा आईपुगेको छ।

यस साता कारोबार रकम (६ करोड ६१ लाख ६० हजार रुपियाँ) को आधारमा एनएमबि बैंक अग्रस्थानमा रहेको छ। त्यस्तै कारोबार भएको शेयर संख्या (२ लाख १३ हजार कित्ता) को आधारमा एनएमबि बैंक नै अग्रस्थानमा रहेको छ। साथै कारोबार संख्या (५७९ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन नै खुला रह्यो। ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको यस साता कुनै पनि कारोबार भएन। नेप्सेमा यस साता १२ वटा कम्पनीको आईपीओ, एफपीओ, बोनस र हकप्रद गरी ५ करोड ६९ लाख १० हजार ६२८ दशमलव ७५ कित्ता शेयर सूचीकृत भएको छ।

बोनस शेयरतर्फ हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८८८ कित्ता, सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५ सय ६४ दशमलव २ कित्ता, मिर्मिरे माइक्रोफाइनान्सको १ लाख ३८ हजार ६ सय कित्ता, हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता, सूर्योदय लघुवित्तको ७६ हजार कित्ता, मेगा बैंकको ९९ लाख ८६ हजार ९५१ दशमलव ५३ कित्ता बोनस र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ४ लाख १७ हजार ४६१ दशमलव २० कित्ता शेयर गरी कुल ३ करोड ६७ लाख ३९ हजार ५२३ दशमलव ८ सूचीकृत भएको छ।

त्यस्तै भार्गव विकास बैंकको २१ लाख १२ हजार कित्ता, कर्णाली विकास बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता, लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४४२ कित्ता शेयर गरी कुल ७१ लाख ५५ हजार ९ सय ४२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। एनएमबी बैकको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ र नाडेप लघुवित्तको १६ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस्