नेपाली शिक्षा परिषद्बाट ‘गुञ्जन’



काठमाडौं। नेपाली शिक्षा परिषद्को ६८ औं वार्षिकोत्सव, परिषद्का संस्थापक वरिष्ठ भाषासेवी तथा साहित्यकार गोपाल पाँडे ‘असीम’ को १०६ औं जन्म जयन्ती तथा ‘गोपाल पाँडे असीम पुरस्कार’ प्रदान कार्यक्रम हालै सम्पन्न भयो। सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। परिषद्का कोषाध्यक्ष तथा वरिष्ठ समाजसेवी भीमबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा यस वर्षको गोपाल पाँडे ‘असीम’ पुरस्कार लेखिकाहरूको साझा साहित्यिक संस्था ‘गुञ्जन’ लाई प्रदान गर्ने निर्णय भएकाले अध्यक्ष हिरण्यकुमारी पाठकले रु. ५०,०००।– नगदसहित सम्मान ग्रहण गरिन्। सम्मानित संस्था ‘गुञ्जन’ को साहित्यिक गतिविधिको बृहत् चर्चा साहित्यकार राधेश्याम लेकालीले गरे।

परिषद्का सचिव रमा शर्माले संस्थाको गतिविधिबारे प्रकाश पारेकी थिइन्। सम्मान ग्रहण गर्दै हिरण्यकुमारी पाठकले ‘गुञ्जन’ को यात्रालाई थप ऊर्जा प्रदान गरिदिएकोमा नेपाली शिक्षा परिषद्लाई बधाई दिइन्। प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली शिक्षा परिषद्ले भाषा साहित्यमा पुर्याइरहेको योगदानबारे चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्