नेपाल भाषाको सर्ट फिल्ममा हाःसः मदुगु अब्बल



अमेरिकाको जनकवि दुर्गालाल श्रेष्ठ प्रतिष्ठानको तत्वावधानमा नेपालभाषा चीहाः संकिपा नखः (सर्ट फिल्म फेस्टिबल) नेसं११३८ आयोजक समितिद्वारा आयोजित सर्ट फिल्म फेस्टिबलमा निर्देशक सुनिता राजभण्डारीको हाःसः मदुगु (आवाजविहीन आवाज)ले प्रथम पुरस्कार हासिल गर्न सफल भएको छ। बिहीबार राजधानीको जमलस्थित विश्वज्योति हलमा सम्पन्न महोत्सवमा सहभागी सबै १० फिल्म प्रदर्शन गरिएको थियो भने तत्पश्चात् विजयीलाई पुरस्कार प्रदान गरिएको थियो।

पहिलोपटक आयोजित नेपालभाषा सर्ट फिल्म फेस्टिबलमा प्रथम हुन सफल फिल्मलाई नगद ७५ हजार रुपियाँका साथ प्रमाणपत्र प्रदान गरिएको थियो भने द्वितीय स्थानमा रहेको निर्देशक दर्शनवीर शाक्यको द मिथ जिरोलाई ५० हजार रुपियाँको पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै तेस्रो हुन सफल २ छोटा फिल्म निर्देशक रामकृष्ण खड्गीको अस्तित्व र पोखराका यादवदास भोछीभोय्को भकुंग्वारा ख्वाः (भकुण्डे भूत) लाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो। समारोहमा प्रमुख अतिथि मानवअधिकारवादी नेता एवं आदिवासी आन्दोलनका अग्रज पद्मरत्न तुलाधरले विजयीलाई पुरस्कार प्रदान गरेका थिए। तुलाधरले यस किसिमको भाषिक जागरणको पवित्र उद्देश्य बोकेको फिल्म महोत्सवको सरहाना गरे। आयोजक समितिका सदस्य गायक एवं सञ्चारकर्मी पवित्र कसाःले सञ्चालन गरेको कार्यक्रममा अर्का सदस्य साहित्यकार एवं सञ्चारकर्मी सुरेशकिरण मानन्धरले कार्यक्रमको मूल उद्देश्यमाथि प्रकाश पार्दै आगामी वर्षको सर्ट फिल्म फेस्टिबलमा नेपालभाषामा प्रकाशित साहित्यिक कृतिमा आधारित लघु फिल्मबीच प्रतिस्पर्धा गराउने घोषणा गरे।

यस वर्ष आयोजित महोत्सवमा राकेश महर्जनको म्हसीका (पहिचान), हर्के माइलाको मांभाय् (मातृभाषा), कमलरत्न तुलाधरको यांभाय् (दूर भाषा), सुरेन्द्र मानन्धरको नेवाः झी नेवाः हे जुइ (नेवार हामी नेवार नै हौं), प्रज्ज्वल शाक्यको स्वचेतना र पवन जोशीको लिच्वः(परिणाम) गरी १० फिल्मले भाग लिएका थिए भने सहभागी सबै फिल्मलाई प्रोत्साहनस्वरूप जनही ५ हजार रुपियाँ प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्