श्रीलङ्कामा डेङ्गुबाट ४१ को मृत्यु



कोलम्बो ।
श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ ।

अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका छन् भने गत महिना ६ हजार २२१ व्यक्तिमा सो रोग देखा परेको थियो ।

राजधानी सहर कोलम्बोमा यसवर्ष सबैभन्दा बढी ६ हजार ९३७ जनामा डेङ्गु पाइएको छ । दोस्रो स्थानमा पूर्वी जिल्ला बाटिकोलोवामा ४ हजार १५६ जनामा सो रोग देखा परेको छ । यो रोग प्रभावित तेस्रो स्थानमा कोलम्बोको बाहिरी इलाकामा पर्ने गाम्पाहा रहेको छ । गाम्पाहामा ३ हजार ६१९ व्यक्तिमा उक्त रोग देखा परेको छ ।

राष्ट्रिय डेङ्गुरोग नियन्त्रण इकाईले दक्षिणपश्चिम क्षेत्रको व्यापक मनसुनी वर्षाका कारण डेङ्गुरोग व्यापक रुपमा फैलिएको जनाएको छ । इकाईले देशका उत्तरी र पूर्वी क्षेत्रका सबैभन्दा जोखिममा रहेका क्षेत्रहरुमा डेङ्गु नियन्त्रणका लागि विशेष कार्यक्रमहरु प्रारम्भ गरेको बताएको छ ।

गत वर्ष श्रीलङ्कामा डेङ्गुबाट तीनसय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १ लाख ३६ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका थिए ।
रासस

प्रतिक्रिया दिनुहोस्