बालबालिकालाई उचित शिक्षाको खाँचो



हरेक मानिस शरीरको विभिन्न चरण पार गर्दै जान्छ । शारीरिक विकासक्रमसँगै मानसिक विकासमा पनि प्रत्यक्ष परिवर्तन र प्रभाव पर्दै जान्छ । जीवनका विभिन्न चरणमध्येको अत्यन्त संवेदनशील उमेर समूह मानिन्छ– किशोरावस्थालाई । यही समय उचित मार्गदर्शन, संरक्षण तथा शिक्षा प्रदान गर्न नसकिए ईश्वर भनिने उमेरबाट विचलित र दिग्भ्रमित हुँदै कुमार्गमा हिँड्न पुग्छन् उनीहरु । यही बेला नैतिक शिक्षासहितको कर्तव्याकर्तव्यको बोध गराउँदै संस्कार, सभ्यता र मानवोचित चरित्र निर्माणको मार्गदर्शन आवश्यक हुन्छ । समृद्ध संस्कृतिका अनुचर हुँदाहुँदै पनि आधुनिक सेवा, सुविधा र सुख प्राप्तिको लालसाका कारण सबै नैतिक कर्तव्य र जिम्मेवारीबाट स्खलित हुँदै जाँदा हाम्रो भविष्य नै अन्यौलग्रस्त बन्दै छ ।

बालबालिकालाई जन्मदेखि रेखदेख, संरक्षण, लालनपालनसँगै जीवनोपयोगी शिक्षा दिने आमालाई पहिलो गुरुआमा मानिन्छ । आमा प्रत्येककी पहिलो गुरुआमा हुन् जसले बोल्न, हिँड्न र सभ्य, सुसंस्कृत बन्न शिक्षा दिन्छिन् । अहिल्यै अनुकरण गर्ने मानसिकता र अन्धानुशरण गर्ने आयातीत तथाकथित नुतन संस्कृतिले हाम्रो मौलिक संस्कृतिलाई विस्थापनको संघारमा पु¥याएको छ । यही बेला राष्ट्रियता संरक्षण युवामञ्च नेपालले झापाको अर्जुनधारा क्षेत्रमा पूर्वीय दर्शनमा आधारित मर्यादा कक्षा प्रारम्भ गरेको सुखद खबर प्रकाशित भएको छ । यो खबरले थोरै मात्र पनि मौलिक संस्कृति, धर्म, दर्शन, मूल्य, मान्यता, राष्ट्र र राष्ट्रियताप्रति मोह हुनेलाई खुशी तुल्याएको हुनुपर्छ ।

भनिन्छ, शिक्षा सम्पूर्ण विकासको आधार हो । त्यसमा पनि एउटा असल मान्छे बन्नका लागि नैतिक शिक्षाको आवश्यकता हुन्छ । हाम्रो औपचारिक शिक्षा प्रणालीमा मर्यादा, अनुशासन र नैतिकताको शिक्षा न व्यवहारमा दिइँदै छ, न त पाठ्यपुस्तकका माध्यमबाटै । पूर्वीय दर्शनअनुसारको पारिवारिक ढाँचा पनि बदलिँदै एकल परिवारमा रुपान्तरित हुँदै जाँदा बालबालिकालाई सिकाउनुपर्ने आचरण, व्यवहार र अनुशासनको शिक्षा हराएका कारण अहिलेको युवापिँढी विकृति र विसंगतितर्फ उन्मुख भएको छ । अझ भोगविलासको लालसा र ऐश्वर्य आर्जन गर्ने मोहले आफ्ना सन्तानलाई अलग राख्ने कु–संस्कृतिको विकास हुँदै छ । त्यसमाथि स–साना नानीलाई छाडेर विदेश जाने आमाहरुका कारण तिनले उचित शिक्षादीक्षा, लालनपालन नपाएर एकाङ्की बन्दै जाँदै छन् ।

यही सत्यबाट उत्पन्न पीडालाई बोध गरेर शुरु गरेको सदाचार, मर्यादाको कक्षाले हाम्रा बालबालिकालाई दिशानिर्देश गर्न सक्यो भने कमजोर हुन थालेको सामाजिक सद्भाव पुनः स्थापित हुनेछ । हप्ताको एकदिन मात्रै पनि बालबालिकाले मर्यादा, सदाचार, सद्विचार, असल व्यवहारको शिक्षा ग्रहण गरे भने पारिवारिक, सामाजिक एकता र सद्भाव कामय गर्न, सहिष्णु, सहयोगी र उपकारी बन्न बल पुग्नेछ । यसले खण्डित र विचलन हुँदै गएको पूर्वीय दर्शन, धर्म र संस्कृतिको बन्धनलाई बलियो बनाउनेछ । यो डोरीले एकतायुक्त, संस्कारी, सदाचारी र व्यावहारिक बनाउँदै हाम्रो मौलिक पहिचानलाई पुनर्जीवित तुल्याउनेछ ।
यस्तो पवित्र अभियानमा क्रियाशील राष्ट्रियता संरक्षण युवामञ्च नेपालको शिक्षा विस्तार गर्ने लक्ष्य सफल होस् । सबै नागरिकमा राष्ट्र, राष्ट्रियता, स्वाभिमान, जातीय गौरवको भावना जागृत हुन सकोस्, मुटुका हरेक धमनीमा यस्ता मौलिक विशिष्टताको सञ्चार होस् । अनि मात्र हाम्रा पूर्वजका योगदानलाई अक्षुण्ण राख्न र त्यस आधारमा जातिको जीवन्तता कायम राख्न सकिनेछ । यस उमेर समूहका युवा–युवतीलाई संयम राख्न र उनीहरुलाई सधैँ सकारात्मक मार्गमा डो¥याउन शिक्षा दिँदा विशेष ध्यान दिनु जरुरी छ । पाठ्यक्रम निर्माण गर्दा नै यस विषयमा ध्यान दिनु जरुरी छ ।
– मुमाराम दाहाल, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्