यसरी अडिएलान् त विद्यार्थी !



नेपाल माचारपत्रको गत ७ गतेको अंकमा ईश्वरराज ढकालले लेख्नुभएको शिक्षासम्बन्धी समाचार पढेपछि केही कुरा लेख्न मन लाग्यो । सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई विविध सुविधाबारे समाचार आइरहँदा विद्यार्थी भने विद्यालय पहुँचबाहिर धेरै रहेको देखिन्छ । विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गर्नको लागि हरेक वर्ष अभियान नै चल्ने गर्छ ।

बालबालिकालाई विद्यालय भर्ना गरिए पनि उनीहरु टिकाउनको लागि हम्मे पर्दै आएको छ । शिक्षाको महत्वबारे चेतनाको कमी हुँदा अभिभावकले पनि त्यति चासो नदेखाउँदा बालबालिका विद्यालयप्रति आकर्षित भएको पाइँदैन । विशेष गरी कडा मजदुरी गरी बिहान–बेलुकी हातमुख जोर्दै आएको श्रमजीवी वर्गका बालबालिका विद्यालयबाहिर रहेको सरकारी तथ्यांकले देखाउँछ ।

बालबालिकालाई विद्यालयमा टिकाउनका लागि अभिभावकत्व ग्रहण गर्ने तिथिको थालनी गरिए पनि कालान्तरमा त्यसलाई निरन्तरता दिन नसक्दा बालबालिका शिक्षाबाट विमुख भएका समाचारहरु अहिले पनि व्यापकरुपमा आइरहेका हुन्छन् । जबसम्म शिक्षाको महत्व अभिभावक र तीनका सन्ततिलाई बुझाउन सकिँदैन तबसम्म हरेक वर्ष करोडौं खर्च गरेर सञ्चालन गरिने विद्यालय भर्ना अभियान एकादेशको कथामा सीमित हुनेछ ।

बालबालिकाको पहिलो पाठशाला भनेको घर हो । जबसम्म घर शिक्षामैत्री हुँदैन, शैक्षिक सामग्री खरिदका लागि निम्नवर्गीय परिवार सक्षम हुँदैन, तबसम्म बालबालिकालाई विद्यालयमा डो¥याउन सकिँदैन । तर हाम्रै एउटा यस्तो समाज छ, जहाँका अभिभाकले आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षाको लागि अक्षयकोष स्थापना गरेका छन् । अभिभावकले गुणस्तरीय शिक्षासँगै पूर्वाधार सुधारमा पनि काम गर्नुपर्ने बेला अहिले देखिएको छ ।

विद्यालयको भौतिक संरचना र गुणस्तरीय शिक्षाको लागि सरकारी निकायको मुख ताक्ने प्रवृत्तिलाई अन्त्य गर्दै अभिभावकले विद्यालयमा विद्युतीय पुस्तकालय निर्माणमा पनि सहयोग गरेमा केही सुधार हुन सक्छ । विभिन्न अक्षयकोष स्थापना गरेर बालबालिकालाई पुरस्कारको व्यवस्था गरेमा, आफ्नो ठाउँको विद्यालय सुधारका लागि आईटी कक्षासहित कम्प्युटर तथा ई–पार्टीमार्फत विद्यार्थीलाई नवीनतम प्रविधिको ज्ञान दिने व्यवस्था गरेमा पनि अलि आकर्षक बढाउन सकिन्छ ।

सरकारी विद्यालय पछाडि पर्नुको अर्को कारण भनेकै पुरातनवादी सोच भएका शिक्षक ठूलै रहेको छ । विभिन्न सूचना प्रविधिसँग अपडेट नहुने शिक्षकले पुरानै ढर्राबाट शिक्षण गर्दा विद्यार्थी आकर्षित हुँदैनन् । विद्यालयले सिकाइ सामग्रीको पर्याप्त व्यवस्था गर्नु जरुरी देखिन्छ ।
– सुरक्षा कार्की, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्