शीर्ष १० कमाउनेमा टेनिसकै आधिपत्य



लन्डन, (एजेन्सी)
हालै फोब्र्स म्यागेजिनले निकालेको सबैभन्दा बढी आर्जन गर्ने शीर्ष १० महिला खेलाडीको सूची सार्वजनिक गर्दा आठ जना टेनिस खेलाडी रहेका छन् । जसमा भारतीय ब्याडमिन्टन खेलाडी पीभी सिन्धु र रेसिङ कार ड्राइभर डानिका पेट्रिक मात्रै गैरटेनिस खेलाडी सो सूचीमा अटाएका छन् ।

शीर्ष १० उच्चतम रकम आर्जन गर्ने महिला खेलाडीले कूल १ सय ५ मिलियन डलर कमाएका छन् । यो जुन २०१७ देखि जुन २०१८ सम्मको समयमा खेलाडीले कमाएको रकमको आधारमा फोब्र्सले सूची सार्वजनिक गरेको हो । फोब्र्सले बुधबार जारी गरेको सूचीमा आश्चर्यजनकरुपमा २३ ग्रान्डस्लाम विजेता सेरेना विलियम्स पहिलो स्थानमा रहेकी छिन् ।

जबकी सेरेना १४ महिना सुत्केरी भएर कोर्टबाट बाहिरिएकी थिइन् । अमेरिकी खेलाडीले पुरस्कार रकमबाट ६२ हजार डलर कमाएकी छिन् । साथै विज्ञापनबाट उनले १८ मिलियन डलर कमाउन सफल भएकी छिन् । विज्ञापनमा कमाएको आधारमा अमेरिकी टेनिस क्वीन सर्वाधिक कमाउने महिला खेलाडी बनेकी हुन् ।

त्यस्तै डेनमार्ककी टेनिस खेलाडी क्यारोलिन वजनीयाकीले ३.१ मिलियन डलर पुरस्कार रकमबाट र अन्य गरी कूल १३ मिलियन डलर कमाएकी छिन् । शीर्ष ५ मा स्लोन स्टेफेन्स, गार्बिन मुगुरुजा र मारिया सारापोभा परेका छन् । रुसी टेनिस सुन्दरी सारापोभाले कूल १०.५ मिलियन डलर आर्जन गरेकी छिन् । उनी यसअघि ११ वर्ष लगातार कमाउनेमा शीर्ष महिला खेलाडी बनेकी थिइन् । तर १५ महिना डोपिङ प्रतिबन्धमा परेपछि उनको लागि खेल र विज्ञापनको ढोका बन्द भएको थियो ।

शीर्ष १० धेरै कमाउने महिला खेलाडी
सेरेना विलियम्स (टेनिस) १८.१ मिलियन डलर
क्यारोलिन वजनीयाकी (टेनिस) १३ मिलियन डलर
स्लोन स्टेफेन्स (टेनिस) ११.२ मिलियन डलर
गार्बिन मुगुरुजा (टेनिस) ११ मिलियन डलर
मारिया सारापोभा (टेनिस) १०.५ मिलियन डलर
भेनस विलियम्स (टेनिस) १०.२ मिलियन डलर
पीभी सिन्धु (ब्याडमिन्टन) ८.५ मिलियन डलर
सिमोना हालेप (टेनिस) ७.७ मिलियन डलर
डानिका पेट्रिक (रेस कार ) ७.५ मिलियन डलर
एन्जेलिक केर्बर (टेनिस) ७ मिलियन डलर

प्रतिक्रिया दिनुहोस्