युसैन बोल्ट फुटबल मोह



सिड्नी, (एजेन्सी)
विश्व चर्चित कीर्तिमानी तिब्र गतिका धावक तथा आठ पटकका ओलम्पिक च्याम्पियन जमैकाको युसैन बोल्टले फूटबल खेल्न थालेका छन् ।

फुटबल मोहका कारण बोल्ट अहिले अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स फुटबल क्लबमा आबद्ध हुँदै गत मंगलबार पहिलो पटक ट्रेनिङमा सहभागी भएका थिए । एथ्लेटिक्सका यी जमैकाली स्टारलाई अस्ट्रेलियाको ए–लिगमा रहेको म्यारिनर्स टीमले अनुबन्ध गरेको छ ।

जहाँ चितुवा सरह तिब्र गतिमा कुड्ने बोल्टको बल नियन्त्रण कला राम्रै देखिएको थियो । बढी जसो उनले देब्रे खुट्टाबाट बल खेलाएका थिए । सिड्नीबाट करीब ८० किलोमिटर उत्तरमा रहेको गोस्फोर्ड सहरसम्म करिब ६ दर्जन पत्रकारहरुको टोली बोल्टको तालिम र नयाँ खेल करियरको जानकारी लिन त्यहाँ पुगेका थिए ।

पहिलो दिनको तालिम जो सुकैलाई पनि कडा नै हुने गर्दछ । उनलाई पनि त्यस्तै नै भयो । कति मिहेनत गर्नुपर्ला भन्ने त बिस्तारै थाहाँ हुने उनले बताए । आठ पटकका ओलम्पिक च्याम्पियन र विश्वकै सबैभन्दा तिब्र गतिका धावक बोल्टले आफूले केही नौलो गरेर देखाउन चाहेको बताए । उनले भने,–‘म माथि शङ्का गर्नेलाई गलत प्रमाणित गरिदिन्छु । मेरो ध्यान अहिले मात्र फूटबलमा छ ।’ प्रशिक्षक मल्भीले पहिलो दिनको प्रशिक्षण भएकाले बोल्ट केही आत्तिएको बताए ।

उनको फूटबलप्रतिको मोह स्कुलले जीवन देखिकै हो । तर त्यतिखेर उनी गोलरक्षक हुन्थे । पछि उनी स्ट्राइकरको भूमिकामा समेत खेल्न थालेका थिए । म्यारिनर्समा पनि उनी अग्रपंक्तिबाटै खेल्न चाहन्छन् । तर प्रशिक्षकले भने तीब्र गतिमा दौडिन सक्ने बोल्टलाई मैदानको कुन क्षेत्रबाट खेलाउने हुन् त्यो भविष्यमा नै देखिनेछ । उनले मैदानको दायाँबायाँ दुवैतिर ठीक लागेको बताए ।

अक्टोबरको अन्त्यतिर शुरु हुने २०१८–१९ को सिजनमा ए–लिगको एक खेलाडीका रुपमा बोल्टले खेल्नेछन् । उनी आफूलाई अनुकूल भएसम्म क्लबमै रहन सक्नेछन् । तर बोल्टको सपना अझ ठूलो छ । उनी इंग्लिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका समर्थक हुन् । त्यसैले उनी सोही क्लबबाट खेल्न चाहन्छन् । उनले भने,–“मेरो एउटा सबैभन्दा ठूलो सपना नै म्यान्चेस्टर युनाइटेडबाट फुटबल खेल्नु हो, चाहे त्यो एक खेल होस् वा बढी ।“

मंगलवार मात्र ३२ वर्षमा प्रवेश गरेका उनलाई म्यारिनर्सले अवसर दिएको हो । बोल्टले गत वर्ष नै जर्मनी, नर्वे र दक्षिण अफ्रिकी क्लबमा रहेर फूटबल खेल्ने इच्छा देखाएका थिए । तर त्यहां उनको इच्छा पूरा हुन सकेन ।
बोल्टले सन् २००८ को बेइजिङ ओलम्पिकमा पहिलोपटक दुई वटा स्वर्ण पदक जितेका थिए । त्यसपछि उनले ६ वटा ओलम्पिक स्वर्ण पदक जिते र ११ वटा अन्तर्राष्ट्रिय उपाधि हात पारे । त्यसपछि उनले एथ्लेटिक्सबाट सन्यास लिएर फूटबलप्रति मोह देखाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्