अब ८ तले घर बनाउन पाइने



ईश्वरराज ढकाल, काठमाडौं
राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठतले घर बनाउन पाइने भएको छ । घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका वासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौँ महानगरपालिकाले नयाँ मापदण्ड लागु गरेको हो ।
यससँगै ४५ फिट अर्थात् ५ तले घर बनाउन पाइने पुरानो मापदण्ड खारेज भएको छ । अब संरक्षित उपक्षेत्रमा भवन निर्माण गर्दा घरको उचाइ फ्लोर एरिया रेसियो (फार) अधिकतम ६५ फिट अर्थात ७ तला र मिश्रित पुरानो क्षेत्रमा अधिकतम ८ तला अर्थात ७५ फिट हुनेछ ।

पुरानो शहरी क्षेत्रअन्तर्गत संरक्षित स्मारक उपक्षेत्रमा निर्माण हुने घरमा वेसमेन्ट बनाउनुपर्नेछ । अघिल्लो मापदण्डमा उक्त क्षेत्रमा वेसमेन्ट बनाउन नपाउने व्यवस्था थियो । व्यक्तिगत पार्किङ्ग, निर्माण एवं मेसिनरी जस्ता विभिन्न सामग्री भण्डारणका लागि एक तल्ला मात्र वेसमेन्ट वा सेमिवेसमेन्ट बनाउन स्वीकृति दिन सकिने व्यवस्था छ । यस्तै उक्त व्यवस्थाअनुसार भूकम्पबाट सुरक्षित भवनको जग बलियो बनाउन समेत वरिपरिका घर, स्मारक, धाराको मुहानमा प्रतिकूल असर नपर्ने गरी प्राविधिक समितिको सिफारिसमा यस्तो स्वीकृति दिन सकिने छ ।

भूकम्पबाट विस्थापित स्थानीयवासीलाई शहरी जिवनसंग नजिक ल्याउन र आफ्नै घरमा बस्ने वातावरण बनाउन पुरानो शहरी क्षेत्रका वडाध्यक्षहरुको पहलमा नया मापदण्ड लागू गरिएको हो ।

कामनपाद्वारा जारी स्थानीय राजपत्रमा उल्लिखित उक्त मापदण्डअनुसार संरक्षित उपक्षेत्र र मिश्रित पुरानो बसोबास क्षेत्रमा घर बनाउँदा वेसमेन्ट निर्माण गर्न पाउने अनुमति दिइएको हो । पुरानो शहरी क्षेत्रमा जमिनमुनि एक तल्ला मात्र र अन्य क्षेत्रको हकमा जमिनमुनि दुई तल्लासम्म बेसमेन्ट राख्न पाइने छ । दुई तल्लासम्मको बेसमेन्ट बनाउनु पर्दा संधियार तर्फको सेट व्याक कम्तीमा तीन मिटर छोड्नुपर्ने छ ।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नगर कार्यपालिकाको बैठकले भवन मापदण्ड २०७५ जारी गरेको जानकारी दिनुभयो ।
कामपा भवन निर्माण इजाजत विभाग प्रमुख रविन्द्र पौडेलले ४५ फिट मात्र अग्लो घर बनाउँदा आफूहरूलाई पीडा भएको भनी मिश्रीत पुरानो बसोबास र संरक्षित उपक्षेत्रका बासिन्दाबाट गुनासो आएपछि नया मापदण्ड ल्याइएको बताउनुभयो । प्रवक्ता कार्कीले अब ४५ फिट भन्दा अग्लो घर बनाउँदा थप कर लिइने जानकरी दिनुभयो ।

विभागीय प्रमुख पौडेलले मापदण्ड अनुसार बनेका घरको तथ्याङक लिन समस्या परेको बताउँदै अग्ला घरहरु करको दायरामा आएपछि समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो ।

कामपा वडा नम्बर २२ का अध्यक्ष चिरीकाजी महर्जनले पुरानो मापदण्डलाई परिमार्जन गर्न माग आएपछि नयाँ मापदण्ड ल्याइएको बताउनुभयो । यस्तै गत साउन १ गतेदेखि एकै चरणमा नक्सापासको स्थायी इजाजत दिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्