भुकम्पपीडित अनुदानको काठ उपलब्ध गराउन थालियो



पुष्कर बुढाथोकी, भक्तपुर ।

भुकम्पबाट पीडित लाभग्राहीलाई सरकारले आजदेखि भक्तपुरबाट अनुदानको काठ उपलब्ध गराउन थालेको छ ।डिभिजन वन कार्यालय भक्तपुरले आजदेखि भक्तपुर सूर्यवनायक नगरपालिका– ७ जगातेस्थित चाइनिज इँटा तथा टायल कारखानाबाट काठ वितरण सुरु गरेको हो ।

कार्यक्रममा डिभिजनल वन अधिकृत फणिन्द्र पोखरेलले लाभग्राहीलाई विगतमा ५० क्युफिट काठ उपलब्ध गराए पनि काठ उत्पादन कम भएकोले २५ क्युफिट मात्रै काठ उपलब्ध गराएको बताउनुभयो । उहाँका अनुसार बाहिर प्रति क्युफिट रु पाँच हजार ८०० पर्ने काठलाई सरकारले भूकम्प लाभग्राहीका लागि भने रु दुई हजार ७०० मा वितरण गरिरहेको छ ।

भक्तपुरका ५ सय ३६ लाभग्राहीले ललितपुरको बालकुमारीबाट ३६ हजार क्युफिट काठ लिएको र काठ माग गर्दै आवेदन दिनेमध्ये बाँकी एक हजार ८ सय १६ लाभग्राहीलाई भक्तपुरबाटै काठ वितरण गरिनेछ । भक्तपुरमा ६०५ क्युफिट काठ आएको जानकारी दिँदै पोखरेलले तत्काल एक लाख क्युफिट काठ माग भएको र सबै लाभग्राहीले काठ माग गरेमा दुई लाख ६० हजार क्युफिट काठ आवश्यक पर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले भूकम्प पीडितलाई काठ वितरण कार्यको शुभारम्भ गर्दै भक्तपुरका भूकम्पपीडितलाई काठ लिन अब ललितपुरको बालकुमारीमा धाउनु नपर्ने बताउनुभयो ।उहाँले यहाँबाट शुरु भएको काठ वितरणले लाभग्राहीलाई निकै राहत मिलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्