डेढ करोड लगानीमा बेकरी उद्योग



रामधन राई, खोटाङ ।
खोटाङको दिक्तेलबजारमा डेढ करोड रुपैंयाँ लगानीमा बेकरी उद्योग सञ्चालन गरिएको छ । एक करोड ४० लाख रुपैंयाँ लगनीमा स्थानीय ५० जना उद्यमीले सिद्धलक्ष्मी बेकरी उद्योग सञ्चालन गरेका हुन् ।

जिल्लाकै उत्पादनलाई बिस्तार गरेर आर्थिक समृृद्धि प्राप्त गर्ने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बैंक चोकमा बेकरी उद्योग स्थापना गरी सञ्चालन गर्न सुरु गरिएको हो ।

हाल दिक्तेलको बैंक चोकमै बिक्रि कक्ष राखेको कम्पनीले दिक्तेलबजार, नुनथला, बुइपा, अर्खौले, हलेसी लगायतका बजारसम्म आफ्नो उत्पादनलाई पु¥याउँदै आएको उद्योगका प्रबन्धक मनोज बजिमयले बताउनुभयो ।

अत्याधुनिक उपकरण प्रयोग गरेर उद्योग सञ्चालन गरिएको बजिमयको भनाई छ । दिक्तेलमा सिद्धलक्ष्मी सहकारी सञ्चालन गर्दै आएको समुहले सुरु गरेको बेकरी उद्योगमा स्थानीय २५ जना मानिसले रोजगारी पाएका छन् ।

उत्पादनलाई क्रमशः छिमेकी जिल्लामा समेत बिस्तार गर्ने तयारी गरिएको सिद्धलक्ष्मी कम्पनीका अध्यक्ष छत्र बजिमयले बताउनुभयो । दिक्तेलमा उद्योगसँगै क्याफे समेत सञ्चालन गरिएको सञ्चालक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्