जय होस विमस्टेक



गज्जब शक्ति छ पाहुना शब्दमा । घरमा पाहुना आउने पूर्व संकेत पाएसँगै डाइनिङ देखि सिटिङ रुम अनि बेडरुम देखि रेष्टरुमसम्म सफा गर्ने नेपालीहरुको खान्दानी परम्परा हो । पाहुनाले घरमा विभिन्न किसिमका परिकार जोहो गर्न बाध्य बनाउछ भने बोलीचाली र आनीबानीमा समेत आमूल परिवर्तन गराउँछ भन्या ।

अहिलेका नेता, मन्त्री र सो भन्दा माथिका उच्च पदस्थहरु पाहुनालाई स्वागत सत्कार गर्नु प¥यो भने यही खान्दानी परम्परा दोहो¥याउँछन् । आफ्नो व्यक्तिगत जिवनशैंली राजसी ठाटको भएपनि ‘बाह्र वर्ष ढुङ्ग्रोमा राख्या कुकुरको पुच्छर बाह्रवर्षपछि पनि जस्ताको तस्तै’ भन्ने उखान पाहुनाको स्वागत सत्कारमा प्रष्टै झल्किन्छ ।

केही दिनपछि काठमाडौंमा विमस्टेक सम्मेलन हुने भएपछि सहर बजारका चोक र सडक रङ्गाउने, सिगार्ने काम रातरात भइरहेको छ । भत्किएका सडक किनार र मिनी स्वीमिङ पुल झैं बनेका सडकका खाल्डा पनि धमाधम पुरेर छिमेकी रिझाउने काममा सरकार जुट्या छ । पाहुनालाई स्वागत गर्न कसरी जिउडाल मर्काउने, बोली बचन अनि मुस्कान कसरी सुमधुर बनाउने भन्ने अभिनय पनि चल्दै होला ।

केही महिना अघि मोदी नेपाल आउँदा उस्तै मौसमी तमास थियो । जे होस, पाहुनामा उद्भूत शक्ति छ, अघिपछि काठमाडौंको हालत जे जस्तो भएपनि बेला मौकामा सिँगारिने मौका पाउँछ । जय होस पाहुनाको जय होस ।

प्रतिक्रिया दिनुहोस्