साढे तीन वर्षमा पनि बनेन भ्यु टावर, महानगरपालिका अझै बेखबर



सुरेश तामाङ, काठमाडौं
काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन नसकेको हो ।

सो टावर तीन वर्षभित्र बनाउने शर्तमा काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग २०७१ फागुन ८ गते सम्झौता गरेको थियो । सम्झौताको ८ महिनापछि २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले त्यसको शिलान्यास गर्नुभएको थियो । शिलन्यासको ६ महिनापछि २०७३ बैशाख २२ गते त्यहाँको बसपार्क खुलामञ्चमा सारेर निर्माणस्थलको वरपर जस्तापाताले बारिएको थियो । त्यसैलाई नै भ्यूटावरको अहिलेसम्मको प्रगती मान्दा हुने भएको छ । भित्र निर्माण सामग्री थुपारिएका छ भने निर्माण कार्यमा प्रयोग गर्ने उपकरणहरुले निर्माणस्थल भरिएको छ ।

यद्यपि सम्झौताकर्ता प्रमुख मनोज भेटवालले छिट्टै निर्माण थाल्ने दावी गर्दै भन्नुभयो –‘छिट्टै थाल्छौँ । गृहकार्यमा छौँ ।’ तर उहाँले काम थाल्ने मिति तोक्न सक्नुभएन । यसबारे सोध्दा व्यस्त छु भन्दै टेलिफोन राख्नुभयो ।

स्मरणीय छ, केन्द्रीय अनुसन्धान ब्युरोले भेटवाललाई एपेक्स बैंकको २ अर्ब घोटला काण्डमा बैशाख ३ गते पक्राउ गरेको थियो । उहाँमाथि कमसल जग्गा धितो राखेर बैंकमार्फ ११ करोड ९० लाख लिएको आरोप छ ।

सम्झौता सकिएको एकवर्ष नाघ्दासम्म काठमाडौँँ महानगरपालिकाले भने कुनै कारबाही गर्न सकेको छैन । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले ठेकेदारकै लापारबाहीले भ्युटावरको काम सुरु नभएको बताउनुभयो । यसबारे थप बुझ्न खोज्दा उहाँले अहिलेसम्म नबन्नाको कारण ठेकेदारलाई नै सोध्नु भन्नुभयो ।

काठमाडौँमा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले भने यस विषयमा आफू जानकार रहेको बताउँदै निष्कर्षमा पुग्न मेयरसँग छलफल गर्नुपर्छ भन्नुभयो ।

‘सम्झौता कटेको विषयमा मेयरसँग एकचरणमा छलफल भइसकेको छ । अब अर्काे चरण बसेर निचोड निकाल्नुपर्छ ।’
उक्त भ्यूटावर २३ रोपनी जग्गामा बन्ने बताइएको छ । उक्त कम्पनीलाई निर्माणपछि महानगरपालिकाले वार्षिक २ करोड ७० लाख भाडा लिने गरी २७ वर्षसम्म लिजमा दिने सम्झौता भएको छ ।

सार्वजनिक निजी साझेदारीको मोडलमा २९ तले टावर बनाउने बताइएको छ तर अहिले भने १२ तल्लाको मात्रै नक्सा पास भएको छ । भूकम्पपछि १२ तल्ला भन्दा अग्ला भवन निर्माण गर्न रोक लगाइएकोले थप नक्सा पास नभएको बताइन्छ ।
भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड मन्त्रीपरिषदमा पुगेकाले त्यसको गाँठो फुकेपछि २९ तला नै बनाउने बताइएको छ । यस टावरमा २ तला अण्डर ग्राउण्ड र ३ वटा तलामा बस, माइक्रो तथा मोटरसाइकल पार्क रहनेछ ।

प्रतिक्रिया दिनुहोस्