स्थानीय तहको बलियो कदमः गाँजा रोपे सेवासुविधा चट् !



हेटौंडा,(नेस) ।
मकवानपुरका बिकट विशेषतः राक्सिराङ र कैलाश गाउँपालिकामा लागुऔषध गाँजा, चरेस र अफिम खेती हुने गरेको सबैलाई ज्ञात छ ।

यही समस्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले लामो समयदेखि लागुऔषध खेती बिस्थापनका लागि विभिन्न योजना अगाडि सारेको पनि हो । तर, यो सफल भने हुन सकेको छैन । केन्द्रीय सरकारले स्थानीय प्रशासनको आग्रह नसुन्दा नियन्त्रणका प्रयास व्यवहारिकरुपमा सफल हुन सकेको छैन ।

अवैध लागुऔषध गाँजा उत्पादनको हिसाबले देशमै अग्रणी जिल्लाका रुपमा रहेको मकवानपुरमा खेती बिस्थापन गर्न अब भने स्थानीय जनप्रतिनिधि नै कठोररुपमा अगाडि बढ्ने भएका छन् ।

प्रहरीले प्रत्येक वर्ष गाउँमै गएर लागुऔषध फँडानी गर्ने गरे पनि अब स्थानीय तहलाई अगाडि बढाएर बिस्थापन गर्ने गरी अगाडि बढिरहेको छ । यसमा जनप्रतिनिधिले प्रहरी तथा प्रशासनलाई सहयोगको वचन दिएका छन् । जिल्लाका दुई गाउँपालिकाले लागुऔषध खेती गर्नेलाई कुनै प्रकारको सेवासुविधा उपलब्ध नगराउने निर्णय गरेर अगाडि बढेको छ ।

विशेष गरी लागुऔषध खेती हुने क्षेत्रका जनता भरियाका रुपमा परिचालन हुँदा प्रहरी फन्दामा परेको र लागुऔषध खेतीका कारण गाउँको परिचय नै फेर्न नसकिएपछि बाध्य भएर यस्तो कदम चाल्नुपरेको गाउँपालिका प्रमुखहरुले बताएका छन् ।

‘गाँजा खेती गर्ने कृषकलाई वडा कार्यालय र गाउँपालिकाले कुनै पनि सिफारिस र सेवासुविधा उपलब्ध गराउने छैन,’ कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले भन्नुभयो, ‘गाँजा र अफिम खेती निरुत्साहित गरी पूर्णरुपमा बिस्थापित गर्न यस्तो निर्णय गरेका हौं ।’

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँबाट गाँजा र अफिम खेती बिस्थापित गरिने बताउनुभयो । ‘यस्तो खेती गर्नेलाई गाउँपालिकाले कुनै पनि सेवासुविधा उपलब्ध नगराउने नीति बनाएका छांै,’ उहाँले भन्नुभयो ।

जिल्लाका पश्चिमी क्षेत्रका यी दुई गाउँपालिकामा गाँजा र अफिम उत्पादन अत्यधिक हुने गरेको छ । कैलाश र राक्सिराङ गाउँपालिका अध्यक्षद्वय मोक्तान र मल्लले यस्तो खेती बिस्थापित गर्न प्रदेश र संघीय सरकारले पनि बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभएको छ ।

विगतमा लागुऔषध खेतीको विकल्प दिन नसक्दा समस्या सिर्जना भएको बताउँदै उहाँहरुले स्थानीय निकाय, प्रदेश र संघीय सरकारले यसका लागि बढी बजेट छुट्याउन जरुरी रहेको बताउनुभयो ।

‘गाउँमा सडक, खानेपानी, शिक्षा र रोजगारीलगायत क्षेत्रमा राज्यले लगानी बढाए विस्तारै खेती घट्दै जान्छ । स्थानीय निकायसँग यस्ता कामका लागि पर्याप्त बजेट हुँदैन’, अध्यक्षद्वयले भन्नुभयो । गाउँपालिका, वडा कार्यालय र प्रहरी प्रशासनको दबाबले मात्र पूर्णरुपमा खेती बिस्थापित गर्न नसकिने र गाउँँमा मोटरबाटो पु¥याउन प्रदेश र संघीय सरकारले बजेट छुट्टयाउनुपर्ने उहाँहरुको माग छ ।

‘मोटरबाटो पुगेपछि गाउँमा उत्पादित कृषिजन्य वस्तुले बजार पाउँछन् । त्यसपछि गाँजा खेती स्वतः बिस्थापित हुन्छ,’ राक्सिराङ अध्यक्ष मल्लले भन्नुभयो, ‘विगतका वर्षभन्दा हाल गाँजा खेती घटेको छ ।’ यी दुई गाउँपालिकाका दुर्गम क्षेत्रमा मकैबारीभित्र गाँजाको ब्याड राख्ने गरिन्छ ।

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आफनो गाउँपालिका गाँजा भारत निर्यात गर्ने नाकाको रुपमा प्रयोग हुँदै आएको बताउनुभयो । मकवानपुरसँगै मनहरी तथा लोथर क्षेत्र भएर धादिङ जिल्लाको विभिन्न स्थानबाट समेत गाँजा ल्याउने लैजाने गरिएको छ ।

स्थानीय प्रशासनले संविधानसभा दोस्रो निर्वाचनताका मकवानपुरमा विभिन्न सरकारी, गैरसरकारी, निजी तथा स्थानीय निकायसँगको सहकार्यमा गाँजा प्रभावित गाविसहरुमा एक करोड रुपियाँ बराबरको बैकल्पिक प्याकेज लैजाने बताएको थियो ।

हेटौंडामा आयोजित गाँजाखेती बिस्थापनका लागि सरोकारवालाबीचको छलफलले यस्तो प्याकेज तयार पारेको थियो । गाँजा प्रभावित आठ गाविसका लागि एक करोड रुपियाँबराबरको प्याकेज तयार भएको हो । सबै क्षेत्रले गाँजाको विकल्प बोकेर गाँजा प्रभावित क्षेत्रमा जाने प्रतिवद्धता जनाए । तीन वर्षे एकीकृत गुरुयोजना तयारीको प्रयास पनि भयो । जिल्लामा गाँजा खेती क्रमशःहट्दै विकल्प दिएपछि पूर्णरुपमा हट्ने प्रशासनको विश्वास थियो ।
प्रशासनले स्थानीय निकाय, विषयगत कार्यालय, निजी क्षेत्र आदिसँग सहकार्य गर्ने नीति लिएको थियो । छलफलबाट प्रजिअ, स्थानीय विकास अधिकारी, साना किसान सहकारी अध्यक्ष, गैरसरकारी संस्था अध्यक्ष र जिल्ला विकास समिति सदस्य रहने गरी कार्यटोली पनि गठन गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कृषि कार्यालय प्रमुख, डिभिजन सहकारी कार्यालय प्रमुख, गाँजा प्रभावित किसान सम्मिलित अनुगमन टोली पनि गठन गरियोे । तर, जिल्लामा हालसम्म कसैले गाँजाको न विकल्प दिए न त प्याकेज नै ।

गाँजा उत्पादन र कारोबारको ‘पकेट क्षेत्र’ का रुपमा चिनिएको मकवानपुरको नामटारका राजनीतिक दलका प्रतिनिधि र गाविसका अगुवा किसानले गाँजा खेती गाउँबाट बिस्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, व्यवहारमा त्यस्तो हुन सकेको छैन ।

गाँजा बोकेकोे आरोपमा नामटार गाविसका १४ वर्षीय किशोरदेखि ७७ वर्षीय वृद्धसमेत एकसय ५० जना मकवानपुर, चितवन, धादिङ र काठमाडौंलगायत मुलुकका विभिन्न जेलमा छन् । लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले नामटारमा गाँजा खेती र ओसारपसारविरुद्ध अभियान नै गरेको थियो । कार्यक्रममा गाउँलेले गाँजा त्याग्ने सार्वजनिक प्रतिवद्धता व्यक्त गरेका थिए ।

लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले मकवानपुरको गाँजा उत्पादन हुने नामटार, कालिकाटार र भार्ताका विद्यालय र समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा जेलजीवन बिताइरहेका कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारमा सजाय भोग्नेहरु छन् । लागुऔषधको ट्रान्जिट प्वाइन्ट मानिने मकवानपुरका युवा लागुऔषध ओसारपसार मुद्धामा देशका विभिन्न क्षेत्रका कारागारमा जेलजीवन बिताइरहेका छन् ।

आर्थिक विपन्नता र बेरोजगारीका कारण बाध्य भएर लागुऔषध बोक्ने भरिया बन्दा जिल्लाका पश्चिमोत्तर तत्कालिन १२ गाविसका ३ सय ५० भन्दाबढी युवा जेलजीवन बिताउन बाध्य भएका हुन् । युवाशक्ति विदेश पलायन हुनु सामान्य बन्दै गएको अवस्थामा युवाले जेलजीवन बिताइरहँदा गाउँको विकास ओझेलमा परेको छ ।

यातानापीडित सरोकार केन्द्र (सिभिक्ट) नेपालले देशको नमूनालायक कारागार कार्यालय भीमफेदीमा एकसय जना कैदीबन्दीसँग गरिएको मुद्धा र कैदीबन्दीको वर्गीकरणका आधारमा गरिएको अनुसन्धानबाट लागुऔषध कारोबारमा संलग्न रही सजाय भोग्दै आएका बढी देखिएका छन् ।

गाँजा खेती हुने गाँउवस्तीसम्म सरकारले मोटर बाटो पु¥याए त्यहाँका किसानलाई डोका, डालो बनाउने र बाख्रापालनतर्फ आकर्षित गराउन सकिने सुझाव दलका नेताहरुले दिएका छन् । अवैध भनिएको गाँजा खेतीबाट समुदायको जीवनयापन भइरहेकाले अब खाद्यान्न तथा आयआर्जनमा सहयोग पु¥याउने कार्यक्रम ल्याउनुपर्ने नेताहरुको सुझाव छ ।

गैरकानुनी कार्य भएकाले गाँजा बिस्थापन गर्न प्रभावित क्षेत्रमा केन्द्रीय र जिल्लास्तरबाट वैकल्पिक तथा दीगो आर्यआर्जनका कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले आग्रह गरेका छन् ।

आयुर्वेदमा उल्लेख भएको गाँजाको औषधीय महत्व पनि छ । तर, सीमा र मापदण्ड नाघेर सेवन गर्दा यसले लागुपदार्थको रुप लिन्छ । गाँजा एक प्रकारको वनस्पतिमा पर्छ । नेपालको तराईमा यसको खेती पनि गरिन्छ, तर लुकीछिपी । यसको पात र डाँठबाट गाँजा बनाइन्छ । कतिपयले भाङको पातबाट पनि गाँजासरह पदार्थ बनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्