लोप हुँदै परम्परागत घुमाउने घर



पर्वत,  ग्रामीण भेगका बासिन्दाले परम्परागतरुपमा बनाएका खरले छाएका घुमाउने घर विस्तारै लोप हुँदै गएका छन् ।

घुमाउने घरभित्र अँध्यारा, धेरै कोठा नहुने र छानो छाउन वर्षेपिच्छे झण्झट हुने भएकाले घुमाउने घरप्रतिको आकर्षण घट्दै गएको हो । त्यसो त ग्रामिण क्षेत्रमा समेत आधुनिक सुविधासम्पन्न घर बनाउने चलन बढेकोले परम्परागत घर लोप हुँदै गएको बताइन्छ । केही वर्ष अघिसम्म पर्वतका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एकाध देखिन्छ । हरेक गाउँका बासिन्दा शहर बजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले आधुनिक घर बन्न थालेका छन् ।

केही वर्ष अघिसम्म गाउँमा अधिकांश घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्न न्यानो र स्वास्थ्यको दृष्टिले लाभदायक हुने भए पनि पछिल्लो समयमा धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएका छन् भन्नुहुन्छ कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका बासिन्दा हेमराज सापकोटा । “सय वर्ष पहिलेका घर अहिले लोप भइसकेका छन्, भएका केही घर पनि उपयोगमा छैनन् जीर्ण भइसकेका छन्,” सापकोटा भन्नुहुन्छ ।

मानिस उज्यालो, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेकाले घुमाउने घर लोप हुँदै गएको स्थानीय रामकृष्ण सापकोटाले बताउनुभयो । जस्तापाताको व्यापक प्रयोग, सुलभरुपमा पाइने र एकपटक छाएपछि बीसौँ वर्ष रहने हुनाले पुराना घर उपयोगविहीन हुन थालेको उहाँले बताउनुभयो ।

डेढ दशकअघिसम्म पर्वतका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए । अहिले औलामा गन्न सकिने छन् स्थानीय वृद्ध चिन्तामणि सुवेदीले भन्नुभयो । सवै क्षेत्रमा यातायातको सुविधा पुगेपछि सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्