पेट्रोलियम पाइपलाइन एक वर्षभित्र बिछ्याइ सक्ने लक्ष्य



कृष्णउदास खनाल, वीरगन्ज
नेपाल–भारत पेट्रोलियम पाइपलाइनको काम अबको एक वर्षभित्र सक्ने गरी काम भइरहेको छ । भारतको मोतिहारी र बाराको अमलेखगञ्ज पेट्रोलियम परियोजनाअन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १६ किलोमिटर खण्डमा पाइप गाड्ने काम सम्पन्न भइसकेको हो ।

परियोजनाअन्तर्गत रक्सौल बोर्डरदेखि अमलेखगन्जसम्म ३६.२ किलोमिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर पाइप विछ्याउनुपर्ने हुन्छ ।१५ महिनामा सक्ने लक्ष्यका साथ २०१७ को डिसेम्बरबाट काम शुरु गरिएको परियोजनाले ८ महिनामा झण्डै आधा काम सम्पन्न गरिसकेको छ । भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म २४ किलोमिटर क्षेत्रमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ ।

परियोजनाको ठेक्का पाएको भारतीय कम्पनीले धमाधम काम गरिरहेको भए पनि स्थानीयस्तरमा देखिएका अवरोध नहट्दा कामले गति लिन नसकेको नेपाली अधिकारीहरुले बताए । परियोजनाका इन्जिनियर शरद पौडेलले अवरोध नभएको ठाउँमा पाइप गाडिसकेको र अवरोध भएका ठाउँमा हटाउन पहल भइरहेको बताउनुभयो । पाइपलाइनमार्फत आउने पेट्रोलियम पदार्थ भण्डारणका लागि ४ वटा पुरानै ट्यांकीलाई मर्मत गरेर भण्डारणयोग्य बनाउने काम भइरहेको छ ।

मोतिहारीदेखि अमलेखगन्जसँग पाइपलाइन निर्माणको जिम्मा पाएको भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्रालि भारतका इन्जिनियर जाफर इमाम विभिन्न ठाउँमा अवरोध देखिएकाले काममा समस्या भइरहेको बताउँछन् । पाइपलाइन विस्तार गर्ने रुटमा रहेका व्यावसायिक तथा आवासीय भवन, धार्मिक सम्पदा, वन जंगल र भौगोलिक बनावट अवरोधका रूपमा देखा परेका छन् । परियोजनाअन्तर्गत ३६ किलोमिटरमा २० किलोमिटरमा काम गर्न सहज छ ।

त्यसमा १७ किलोमिटर काम सम्पन्न भइसकेको छ । तीन किलोमिटरमा वर्षायामले गर्दा पानी निस्केर समस्या छ । गण्डक चोकदेखि परवानीपुर बजार क्षेत्रमा पाइप गाड्ने ठाउँमा पानी जमेर समस्या देखिएको छ ।पथलैयाँदेखि अमलेखगञ्ज ८ किलोमिटर जंगलमा पाइपलाइनको काम शुरु गर्न समेत नसकेको अवस्था छ ।

त्यसैगरी पथलैयादेखि सिमरासम्मको जंगल क्षेत्रमा पनि काम हुन सकेको छैन । शंकराचार्यगेटदेखि रजतजयन्ती चोकसम्म १ किलोमिटर खण्ड, परवानीपुर र जीतपुर बजारमा समस्या भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्