राष्ट्रियतासँग गाँसिएको नेपालको राष्ट्रिय पोशाक



-दीर्घराज प्रसाई
नेपालको राष्ट्रिय पोशाक यहाँको पहिचान र सम्पदा हो । भारत, श्रीलंका, म्यान्मार आदि राष्ट्रका आ–आफ्नै राष्ट्रिय पहिरनहरु छन् । बेलायत, अमेरिका, युरोपियन राष्ट्रहरु सुट–टाई लगाएर खालि टाउकोमा प्रस्तुत हुन्छन् ।

विश्वभर यस्तै पहिरनको विस्तार होस् भन्ने ठान्छन् उनीहरु । शायद यही प्रभावमा परी २०६८ साल फाल्गुण ११ गते प्रधानमन्त्री नियुक्त भएपछि डा. बाबुराम भट्टराईले नेपालको राष्ट्रिय पोशाक हटाए । यो हाम्रो दुर्भाग्य थियो ।
२०६२ साल मंसिरमा दिल्लीमा भएको १२ बुँदे सहमतिपछि कांग्रेस र एमालेले माओवादी नेताहरुले जे–जे भन्छन् त्यसै गरे । त्यसैले २०७० सालको निर्वाचनअघि कांग्रेस र एमालेलाई माओवादीको पुच्छर भनिन्थ्यो ।

तर अहिले कांग्रेस र एमालेले आफ्नो गुमेको राष्ट्रियता र प्रजातान्त्रिक छवि कायम राख्ने मौका पाएका छन् । यस क्रममा कांग्रेस र एमालेले राष्ट्रिय पोशाकलाई पनि निरन्तरता दिलाए । फाल्गुण ७ गतेको प्रजातन्त्र दिवसलाई पनि निरन्तरता दिलाए ।

केपी सरकारको नेतृत्वको सरकारले नेपालको राष्ट्रियताका स्रोत राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत् कायम गरी नेपालको राष्ट्रिय सार्वभौमसत्ता, एकता र विश्वभरका हिन्दुहरुको प्रतिष्ठाको लागि कुनै चासो नदिए तापनि २०७५ साल भाद्र १ गतेदेखि नेपालको राष्ट्रिय पोशाकलाई औपचारिक कार्यक्रमहरुमा यथावत् राख्ने जुन निर्णय गरेको छ, त्यसलाई हामी सबैले धन्यवाद दिनुपर्छ । यसबारेमा केपी ओली धन्यवादका पात्र बनेका छन् । तर अब पहिला राष्ट्रिय पोशाक हटाउनेहरुलगायत सबैले राष्ट्रिय पोशाकको गरिमा बुझेर प्रयोग गर्छन् कि बहिष्कार गर्छन् ? हेर्नु छ ।

दुःखको कुरा, प्रधानमन्त्री बनेको १० दिन नपुग्दै डा. बाबुराम भट्टराईबाट नेपालको राष्ट्रिय पोशाक दौरा–सुरुवाल, टोपीलाई राष्ट्रिय पोशाक नमान्ने र आफूखुशी जो–जसले जस्तो पोशाक लगाउँछ त्यही राष्ट्रिय पोशाक हो भन्ने गलत निर्णय गरेर नेपालको राष्ट्रिय मूल्य–मान्यता एवम् पहिचानको उपहास गरियो माओवादी नेताहरु प्रचण्ड र बाबुराम भट्टराईहरुले प्रारम्भदेखि नै राष्ट्रिय पहिचानहरुको कदर गर्ने मनसायमा देखिएनन् ।

प्रधानमन्त्रीको शपथग्रहणको बेला पनि उनीहरुले राष्ट्रिय पोशाकको मान्यता नगरी सुट लगाएर विवादग्रस्त बने । प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा राष्ट्रिय पोशाक ग्रहण गरेको भए उनीहरुको प्रतिष्ठा अरु बढ्थ्यो, घट्दैनथ्यो ।

पुरुषका लागि दौरा, सुरुवाल, टोपी र महिलाका लागि चौबन्दी चोलो र सारी नेपालको राष्ट्रिय पोशाक हो । भेषभूषालाई राष्ट्रको सांस्कृतिक अंगको रुपमा लिइन्छ । नेपाली संस्कृतिको पूर्वाधार वैदिककालदेखि नै अभिपे्ररित छ ।

विक्रम संवत्भन्दा १ हजार वर्षपूर्व हाम्रा भेषहरुको विकास भई आएको पाइन्छ । लोग्नेमान्छेले लगाउने भोटो, दौरा, सुरुवाल, टोपी र स्वस्नीमान्छेले लगाउने ठूलो सारी, चौबन्दी चोलो हो । नेपाली पोशाकको विषयमा अमरकोषमा पनि वर्णन गरिएको छ । नेपाली भेषहरु सांस्कृतिक आधारमा बनेकाले हरनेपालीले हाम्रो पहिचानलाई स्वदेश–विदेशमा प्रयोग गर्नुमा गौरव ठान्छन् ।

टोपीको माथिल्लो भाग सगरमाथास्वरुपको हिमालयको प्रतीक भादगाउँले टोपी र विभिन्न बुटाका आकर्षक टोपीहरुको महत्व विश्वभरमा चिनिएको छ । विदेशमा टोपी लगाउनेबित्तिकै नेपाली भन्ने चिनिन्छ ।

नेपालको राष्ट्रिय पोशाकको धार्मिक तथा तान्त्रिक मतको आधारमा ठूलो महत्व छ । संकट मोचनको हेतुले अष्टमातृकाका प्रतिकात्मक आठ टुक्रा (कल्ली) छाँटी भोटो, चोलो, दौरा, सुरुवाल, जामा, लुगाहरु सिलाउने हाम्रो मौलिक परम्परा छ । सुरुवाल पनि पञ्चभैरवको प्रतीक पाँच टुक्रामा गाँसी सिलाई शुभमुहुर्तमा धारण गर्ने गरिन्छ । नेपालको मौलिक राष्ट्रिय पोशाक तथा राष्ट्रिय झन्डाको महत्व राष्ट्रसंघमा पनि चर्चित छ ।

नेपालको राष्ट्रिय पोशाकलाई औपचारिक कार्यक्रमहरुमा यथावत् राख्ने जुन निर्णय गरेको छ, त्यसलाई हामी सबैले धन्यवाद दिनुपर्छ । यसबारेमा केपी ओली धन्यवादका पात्र बनेका छन् । तर अब पहिला राष्ट्रिय पोशाक हटाउनेहरुलगायत सबैले राष्ट्रिय पोशाकको गरिमा बुझेर प्रयोग गर्छन् कि बहिष्कार गर्छन् ? हेर्नु छ ।

यसो हेर्दा धोती–कुर्था, गाम्छा लगाएर मुडुलो टाउको देखाउँदै राष्ट्रिय–अन्तर्राष्ट्रिय औपचारिक कार्यक्रममा उपस्थित हुनु भारतीय पोशाकको पहिचान देखाउनु हो भने बख्खु लगाएर उपस्थिति हुनु भनेको भूटानीको उपस्थितिजस्तो हो । २०६३ सालभन्दा अघि तराईवासी नेताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय औपचारिक कार्यक्रमहरुमा दौरा–सुरुवाल, टोपी लगाएर उपस्थित भएको बेला कस्तो इज्जत थियो ? अब विदेशमा औपचारिक कार्यक्रममा धोती–कुर्था लगाउँदा के उनीहरुले त्यही इज्जत पाउँछन् त ?

हो, नेपालका विभिन्न क्षेत्रमा अनेकौं जाति, जनजाति, संस्कृति, परम्परा, सामाजिक मान्यता रहिआएको छ । भौगोलिक जलवायुको हिसाबले पनि टोपी, दौरा–सुरुवालको प्रयोग हिमाली क्षेत्र र तराई क्षेत्रमा पनि अप्ठ्यारो पर्न सक्छ । त्यसको लागि आ–आफ्नै आवश्यकता र परम्परागत भेषभूषालाई ग्रहण गरिनु राम्रो हो । पोशाकहरुलाई आवश्यकताअनुसार खुशीका साथ प्रयोग गरिनुपर्छ । संसद्को हकमा भन्नुपर्दा त्यहाँ नेपाल अधिराज्यभरका विभिन्न जातजाति तथा सांस्कृतिक पहिचान बोकेका जनप्रतिनिधिहरुको उपस्थिति रहेको हुन्छ ।

अतः संसद् एक राष्ट्रिय विधायक भएकाले त्यसको ओपचारिक कार्यक्रमबाहेक दैनिक उपस्थितिमा विविध स्वरुपमा विभिन्न जाति, जनजातिका पहिरन लगाएर जनप्रतिनिधिहरुले प्रतिनिधित्व गर्न पाउनको लागि राज्यले नै वैधानिकता दिनुपर्छ । तर आफूखुशी विदेशी सर्ट–पाइन्ट अनि कुर्था–पाइजामाजस्ता पोशाक लगाएर औपचारिक कार्यक्रमहरुमा जाने धृष्टता गर्नु भनेको आफ्नै अपमान हो । स्वदेश–विदेशमा हुने राष्ट्रिय औपचारिक कार्यक्रमहरुमा टोपी, दौरा–सुरुवाललाई ग्रहण गरेर नेपालको पहिचान प्रस्तुत गर्न सक्नु सबैको लागि गौरवको कुरा हो । नेपाली राष्ट्रिय पोशाकको महत्व र परम्परालाई अध्ययन नै नगरी विवादमा पार्न खोजिएको कुरालाई कुनै हालतमा समर्थन गर्न सकिँदैन ।

संस्कृतिविद् सत्यमोहन जोशीले दौरा–सुरुवाल र टोपीलाई यथावत् राख्नुपर्छ भन्दै राष्ट्रिय पोशाक हटाएकोमा चिन्ता व्यक्त गरी यथावत् राख्न माग गरेका थिए । वि. नन्द वैद्य लेख्छन्– ‘बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक विशेषायुक्त राष्ट्रिय भावानात्मक एकताको सूत्रमा हामी आबद्ध छौं । नेपालमा पृथ्वीनारायण शाह राजा भएपछि मल्ल राजाहरुले लगाउने दौरा–सुरुवाल पोशाक र मल्ल राजाहरुले चलाएको धेरैजसो रीतिरिवाज, अनुशरण गरेको कुरा इतिहासबाट थाहा हुन्छ । मल्लकालीन अवस्थादेखि नै दौरा–सुरुवाल नेपालको राष्ट्रिय पोशाकको रुपमा चिनिदै आएकोले नेपाली जनता, दौरा–सुरुवाल र टोपीलगायतका पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा अंगाल्न चहान्छन् ।’

राष्ट्रिय पोशाक हाम्रो राष्ट्रिय पहिचान भन्दै फुर्पा तामाड लेख्छन्– ‘दौरा–सुरुवाल र कोट खस–बाहुन र क्षत्रीको मात्र भषभूषा होइन । धरैजसो आदिवासी जनजातिले पनि दौरा–सुरुवाल लगाउँछन् । नेवारले पनि लगाएका छन् । म पनि दौरा सुरुवाल लगाउँछु । गाउँघरमा धेरैले दौरा–सुरुवाल नै लाउँछन् । खुकुरी र दौरा सुरुवालले नेपालीलाई वीर नेपाली, वीर गार्खाली भनेर संसारभर चिनाएको इतिहास बिर्सनुहुँदैन ।’ यस्तै नापी विशेषज्ञ बुद्धिनारायण श्रेष्ठ लेख्छन्– ‘दौरा–सुरुवाल, कोट र टोपीले राष्ट्रको चन्द्र–सूर्य अंकित राष्ट्रिय झन्डाले जस्तै नेपालको पहिचान बनाएको छ । राष्ट्रिय पोशाक भनेको राष्ट्रिय औपचारिक समारोहमा लगाउनुपर्ने पोशाक हो । राष्ट्रप्रमुख तथा सरकार प्रमुखको औपचारिक वा राजकीय भ्रमणमा आफ्नो राष्ट्रको इज्जतको लागि राष्ट्रिय पोशाक अनिवार्य हुन्छ । तर औपचारिक, राजकीय भ्रमणमा तीनजना नेपाली पदाधिकारीको तीनथरीको भयो भने यसभन्दा लाजमर्दो केही हुँदैन ।’

राष्ट्रिय पोशाकको बारेमा एक खोजकर्ता चित्रराज कुमार त्रिपाठी भन्छन्– ‘पृथ्वीनारायण शाहबाट प्रयोग गरिएको लवेदा सुरुवालमध्ये सुरुवालको मोहोता केही ठूलो भए तापनि अहिलेसम्म केही परिस्कृत हुँदै आएको छ । विक्रम संवत् १८०० तिर पृथ्वीनारायण शाहका राजगुरु रंगनाथका दौरा–सुरुवालका परिस्कृत पोशाक नेपाल म्युजियममा देख्न सकिन्छ ।’ गोर्खाका तत्कालीन पोशाकहरु निहाल्दा त्योभन्दा पहिला उपत्यकाबाहिर सेनवंशी, बाइसी, चौबिसी, साना राज्यका जनतालगायत, बाहुन, क्षत्री, लिम्बु, राई, मगर, तामाङ आदि जातजातिहरुले पनि टोपी, दौरा–सुरुवाल प्रयोग गरिआएका थिए । नेपालीहरुलाई आफ्नै देशको भेष चाहिन्छ । राष्ट्रिय मौलिक भेषले नेपालीहरुको पहिचान खुल्छ । दार्जीलिङमा नेपालीभाषी नरनारीहरुमा नेपाली पोशाक लगाउने लहर आएको छ ।

अतः राष्ट्रिय पहिचानको रुपमा स्थापित आफ्ना पहिचान, मौलिकता भाषा, भेषभूषा तथा राष्ट्रिय पोशाकलाई हामी कसैले विवादमा ल्याउने काम नगरौं । नेपालका पहिचान मूल्य र मान्यताभन्दा अर्को प्यारो कुनै नेपालीलाई नहोला । हामी सबै नेपालीहरु स्वदेश–विदेश जो–जहाँ भए पनि राष्ट्रको सार्वभौमसत्ता जोगाउन, देशको स्थायित्वका लागि हिन्दुराष्ट्रसहित नेपालको राष्ट्रिय पोशाक कायम राखी विश्वमा आफ्नो पहिचान कायम राख्न प्रतिबद्ध रहौं ।

प्रतिक्रिया दिनुहोस्