ज्येष्ठ नागरिक भगवान् हुन्



जीवनको उत्तराद्र्धमा जीवन व्यतीत गरिरहेका ज्येष्ठ नागरिकहरु राज्यका अमूल्य गहना र जिउँदा इतिहास हुन् । उनीहरुको जगेर्ना र सम्मान गर्ने दायित्व राज्यको हो ।

पछिल्लो समय केही सामाजिक संघसंस्थाले परिवार, समाज र देशका लागि अतुलनीय योगदान गरेका अनुभवी व्यक्तित्वलाई ज्येष्ठ नागरिकका रुपमा सम्मान गर्दै आएका छन् । तर, समग्रमा ज्येष्ठ नागरिकहरु अपहेलित भएका छन्, राज्यबाट पाउनुपर्ने न्यूनतम अधिकारबाट वञ्चित भइरहेका छन् । ज्येष्ठ नागरिकहरु अनुभव र योगदानका हिसाबले स्वतः सम्मानका हकदार मानिन्छन् । तर, उनीहरुको भावना र मौलिक अधिकारका विषयमा राज्य मौन रहेको प्रतीत भइरहेको छ ।

सरकारले ज्येष्ठ नागरिकको माग अझैसम्म पूरा गर्न सकिरहेको छैन । ज्येष्ठ नागरिकहरु राज्यबाट मात्र होइन, सामाजिकरुपमा पनि अपहेलित छन् । उमेर ढल्कँदै गएपछि मानिस मानसिक तथा शारीरिकरुपमा अशक्त तथा कमजोर बन्दै जान्छ । पछिल्लो समय केही हदसम्म उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आए पनि समग्रमा उनीहरु उपेक्षित र अपहेलित नै छन् । पश्चिमेली मुलुकहरुमा विकसित एकल परिवारको संस्कृतिको झल्को नेपालमा पनि देखिँदै छ । घरपरिवारबाट भइरहेका शारीरिक, मानसिक, आर्थिकलगायतका दुव्र्यवहार यसैका उपज हुन् ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ मा वृद्धवृद्धाहरुलाई संरक्षण र सामाजिक सुरक्षा प्रदान गरी उनीहरुमा रहेको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै श्रद्धा, आदर–सम्मान, सद्भाव अभिवृद्धि गर्ने व्यवस्था गरिएको छ । ६० वर्ष उमेर पुगेकाहरुलाई ज्येष्ठ नागरिक मानिएको उक्त ऐनमा उनीहरुलाई सम्मान गर्नुपर्ने, पालनपोषण र हेरचाह गर्नुपर्ने, उनीहरुले कमाएको सम्पत्ति आफूखुशी खर्च गर्न पाउनुपर्ने उल्लेख छ ।

ऐनमा सार्वजनिक सवारीमा दुई सिट आरक्षण छुट्याई त्यसमा बस्ने वृद्धवृद्धाका लागि ५० प्रतिशत छुट दिने व्यवस्था छ । तर, यात्रा गर्दा अपहेलित हुनुपर्ने, ज्येष्ठ नागरिकका हैसियतमा सुविधा खोज्दा अपमान, दुव्र्यवहार र आक्रमणको सिकार हुनुपर्ने नियति छ । ज्येष्ठ नागरिकले आरक्षित सिटका लागि मात्रै होइन, सबै ज्येष्ठ नागरिकका लागि छुटको व्यवस्था गर्न माग राख्दै आएका छन् । नेपालको जनसंख्याको करिब १० प्रतिशत ज्येष्ठ नागरिक छन् । ज्येष्ठ नागरिकले ६० वर्ष पुगेकालाई उपचार र यातायात सेवामा सहुलियत चाहेका छन् । यातायात भाडा र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट र वृद्धभत्ता बढाउनुपर्ने माग पनि राख्दै आएका छन् ।

जीवनभर संघर्ष गर्दै आएका ज्येष्ठ नागरिकको उत्तराद्र्धको समय भनेको तनावमुक्त जीवन व्यतीत गर्नु हो । माया–ममता, आदर–सम्मान र आराम चाहने समय हो । तर, उनीहरुको हकहित र सुविधामा ध्यान दिनुपर्ने अवस्थामा पछिल्लो समय बुढेसकाल लागेपछि वृद्धाश्रममा राख्ने परम्पराले ज्येष्ठ नागरिकको अवमूल्यन भइरहेको छ ।

ज्येष्ठ नागरिकलाई पालनपोषणको अधिकार, परिवारमा बस्न पाउने अधिकार, परिवार रोज्न पाउने अधिकार, सम्पत्ति आफूखुसी गर्न पाउने अधिकार, मुद्दा–मामिलामा प्राथमिकताको अधिकार, कानुन व्यवसायीद्वारा प्रतिनिधित्व गर्न पाउने अधिकार, प्राथमिकतामा काम गराउन पाउने अधिकार, कैदमा छुट, सामाजिक सुरक्षा पाउने अधिकारलगायतका अधिकार संविधानले प्रदान गरेको छ । तर, सम्मानित जीवन बाँच्न र कानुनले दिएको अधिकारबाट उनीहरु वञ्चित हुनु विडम्बना हो ।

राज्यले ज्येष्ठ नागरिकका अनुभव, सीप र दक्षतालाई राष्ट्रको विकासमा उपयोग गर्न सक्नुपर्छ । त्यसका लागि ज्येष्ठ नागरिकका विविध विषयमा अध्ययन र अनुसन्धान गरी उनीहरुका चाहना र आवश्यकतालाई संरक्षण एवम् संवद्र्धन गर्नुपर्छ ।
– सुरज पौडेल, चितवन, हाल ः काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्