राष्ट्रपतिद्वारा ईदको शुभकामना



काठमाडौं । मुस्लिम समुदायको पर्व ईदका अवसरका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राजपालगायतका पार्टी प्रमुखहरुले शुभकामना व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तै, उपपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–इद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै इस्लाम धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

सभामुख कृष्णबहादुर महराले मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इद उल जोहा) का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तै, नेकपा कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालले पनि ईदको शुभकामना व्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि देशबासीमा ईदको शुभकामना व्यक्त गर्नु भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले देशविदेशमा रहेका इस्लाम धर्मावलम्बीमा शुभकामना तथा बधाई ज्ञापन गरेको छ । संयोजक महन्थ ठाकुरले पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र सुख अभिवृद्धि गरोस होस् भनी कामना गर्दै सबै किसिमको विभेद, कुरीति र रुढिवादविरुद्ध सङ्घर्ष जारी रहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्