राष्ट्रिय गौरवका आयोजनाले सिक्नुपर्ने पाठ



राष्ट्रिय गौरवका आयोजनामा नेपालीको धेरै आशा रहेको छ । आयोजना सम्पन्न हुने वा नहुनेमा आशंका उब्जिरहने अवस्था छ । कतिपय राष्ट्रिय गौरवका आयोजनाहरू समयमा सम्पन्न हुन नसकी अलपत्र पर्ने गरेको बेला बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्य भने निर्धारित समयअघि नै सम्पन्न हुने संकेत देखिनु सकारात्मक छ ।

आयोजनाको सुरुङ आगामी २०२० मार्चमा सम्पन्न गर्ने अवधि भए पनि सोअघि नै काम सम्पन्न हुने अवस्था देखिएको हो । ६ नोभेम्बर २०१७ देखि ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) को प्रयोग गरी खन्ने काम शुरु भएको थियो । यो आयोजनाको कुल लागत १६ अर्ब ४५ करोड रुपियाँ छ । निर्धारित समयसीमाअघि नै योजना सम्पन्न हुने यस्तो खबरले पक्कै पनि उत्साह जगाएको छ ।

नेपाल भौतिक विकासका दृष्टिकोणले अझै पछाडि छ । अति कम विकसित राष्ट्रको सूचीमा सूचीकृत नेपालले आफ्नो अवस्था सुधारका लागि गर्नुपर्ने धेरै छ । अहिले विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालनमा छन् । तर समयमा पूरा भएका आयोजना विरलै छन् । समयमा आयोजना सम्पन्न नहुनुको नियतिले पनि हाम्रो अवस्थामा सुधार आउन सकिरहेको छैन ।

विभिन्न बहानाबाजीमा निर्माण कार्यको जिम्मा लिने कम्पनी र ठेकेदारहरूले निर्माण कार्यमा अनावश्यक ढिलासुस्ती गर्दा आयोजनाहरूमा लगानीसमेत बढ्ने गरेको छ । तोकिएको लक्ष्यअनुसार काम हुन नसक्दा आवश्यक निर्माण सामग्रीको मूल्य वृद्धि भइसकेको हुन्छ । त्यसले निर्माण लागतको आकारसमेत बढाउँछ । यसरी हरेक आयोजनाहरूमा बढ्दै जाने लगानीले राष्ट्रको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने गरेको छ ।

निर्धारित समयमा आयोजनाहरू सम्पन्न हुन नसक्दा त्यसको प्रतिफल कस्तो होला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । समयमा काम सकिँदा जति लाभ लिन सकिन्छ, ढिलासुस्ती भएपछि लाभ र प्रभावकारितामा समेत असर पर्न जान्छ । लगानीमै तल–माथि भइसकेपछि अनेक खालका चुनौतीहरू घेरिसकेको हुन्छ ।

बनेका आयोजनाहरू निर्बाध ढंगले सञ्चालन गर्न तदारुकता नदेखाउनु, नियमित अनुगमनमा ध्यान नपुग्नु, लापरबाही गर्ने निर्माण कम्पनीहरूलाई कारबाही गर्न नसक्नुजस्ता कारणले यस खालका समस्या बारम्बार आउने गरेका छन् । निर्माणको जिम्मेवारी लिने कम्पनीहरूकै बोलवाला रहनुले पनि उनीहरूको मनपरि देखिन्छ । सरकारले यस्ता कम्पनीहरूको छनौट प्रक्रियामा गम्भीर जाँचपरख नगर्दा वा अनेक स्वार्थका कारण जो पायो त्यहीलाई आयोजना निर्माणको काम सुम्पिँदा पनि झमेला सिर्जना हुन गरेको छ ।

यस्ता कम्पनीको इतिहास, कामको अनुभव, संलग्न व्यक्तिहरूको प्रवृत्ति, प्राविधिक ज्ञान र क्षमताजस्ता विषयमा पर्याप्त अध्ययन गरी आयोजना सञ्चालनको जिम्मा लगाउने हो भने पनि धेरै हदसम्म अहिलेको नियति दोहोरिने सम्भावना रहँदैन । तर आफ्ना नजिककालाई याउनीहरूबाट आर्थिक लाभ, कमिसनको चक्करमा निर्माण कम्पनी छनोट गर्ने प्रवृत्तिले महत्वपूर्ण आयोजनाहरू थला पर्ने गरेका छन् । यो राष्ट्रकै लागि घातक हो ।

यसैले जे–जति आयोजनाहरू सञ्चालन भइरहेका छन, ती सबैले बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट पाठ सिक्न सक्नुपर्छ । यसो हुन सक्दा मात्रै आर्थिक विकास र समृद्धिको अभियानले गति पक्रन सक्छ ।
– प्रविन रेग्मी, पोखरा ।

प्रतिक्रिया दिनुहोस्