प्रविधिमैत्री बन्दै चन्द्रौटाका सरकारी निकाय



बढी जनगुनासो आउने मालपोत र नापीमा क्यामरा जडानको योजनै छैन

सीताराम चौधरी, कपिलवस्तु ।
सेवाग्राहीको सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन कपिलवस्तुको शिवराज नगरपालिका यतिबेला प्रविधिमैत्री बनेको छ ।
सेवाग्राहीको जनगुनासोलाई कम गर्न सिसी क्यामराद्वारा निगरानी बढाइएको हो । सिसी क्यामरा जडानले सुशासन, पारदर्शिता र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजता आउने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको काममा कर्मचारीहरुले ढिलासुस्ती र आलटाल गर्ने गरेको जनगुनासो बढेपछि सिसी क्यामरा जडान गरिएको बताउनुभयो । सिसी क्यामरा जडानले सेवीग्राहीको सेवालाई पारदर्शी बनाउन सकिने पौडेलको भनाई छ ।
नगरपालिकाले विभिन्न शाखाहरुको निगरानी गर्न नगरप्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा मनिटर राखिएको छ । नगरपालिका कार्यालयमा विभिन्न शाखामा र बाहिर प्राङ्गगणसम्मको निगरानी हुने गरी १६ वटा सिसी क्यामरा गरिएको छ । पौडेलका अनुसार सिसी क्यामरा जडानमा करीब ४ लाख खर्च भएको बताइन्छ ।
क्यामरा जडान पश्चात कर्मचारीले सेवाग्राहीलाई चुस्तदुस्त सेवा प्रवाह गरे नगरेको निगरानी गर्न सजिलो भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । कार्यालयमा आउने सेवाग्राहीले पनि क्यामराको निगरानी छ भन्ने थाहा पाएपछि अनुशासित ढंगले बस्ने गरेका र जथाभावी फोहोर गर्ने जस्ता प्रवृत्तिमा समेत कमी आएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।
नगरपालिकाको कार्यालयमा मात्रै नभएर सेवाग्राहीको सेवालाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रशासन कार्यालय चन्द्रौटामा पनि सिसी क्यामरा जडान गरिएको छ । चन्द्रौटा बजार चोकमा पनि सिसी क्यामरा जडान गरी वडा प्रहरी कार्यालयबाट निगरानी गरिएको छ । चन्द्रौटा बजार क्षेत्रमा हुने विभिन्न अपराधिक घटनामा कमी ल्याउन र अपराध अनुसन्धानमा सहज होस् भनी सिसी क्यामरा जडान गरिएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो ।
यता इलाका प्रशासन कार्यालयमा पनि जनगुनासोमा कमी ल्याउन सिसी क्यामराबाट निगरानी बढाएको प्रशासन प्रमुख नरबहादुर खडका बताउनुहुन्छ । कर्मचारीले सेवाग्राहीलाई छिटो छरितो सेवा नदिने, पहिले आएका सेवाग्राहीको पालो मिचेर पछि आएका सेवाग्राहीको काम छिटो गरिदिने, अनियमितता जस्ता जनगुनासो बढेपछि कार्यालयको कामकाज र जनताले पाउने सेवा सुविधालाई चुस्तदरुस्त बनाउन २ लाख ३३ हजारको लागतमा ५ वटा क्यामरा जडान गरिएको शाखा अधिकृत जगदीश अर्यालयले बताउनुभयो ।
तर नागरिकसँंग प्रत्यक्ष सरोकार राख्ने मालपोत कार्यालय चन्द्रौटा र नापी कार्यालय चन्द्रौटामा भने अहिलेसम्म पनि सिसी क्यामरा जडान भएका छैनन् । मालपोतको सेवाप्रभावप्रति बाहिर सनसनी रुपमा जनगुनासो आएपनि मालपोत कार्यालय प्रमुख मदन बहादुर जिसीले नागरिकको गुनासो हालसम्म नआएको दाबी गर्नुहुन्छ । देशका कुनै पनि मालपोत कार्यालयमा सिसी क्यामरा राख्ने अभ्यास सुरु नभएकाले पनि नराखिएको जिसीको भनाई छ । कार्य सम्पादन चुस्तदुरुस्त नभएको गुनासो पनि नआउने गरेकोले पनि मालपोत कार्यालयबाट सेवाग्राहीलाई उत्कृष्ट सेवा दिइरहेको उहाँको दावी छ ।
यता नापी कार्यालय प्रमुख श्रीधर ढुंगानाले भने जनगुनासो धेरै आए पनि कार्यालय भाडाको घरमा भएको र कार्यालयसँग बजेट नभएको कारण क्यामरा जडान गर्न नसकिएको बताउनभुयो । कार्यालयमा क्यामरा जडान गर्नका लागि केन्द्रसँग माग गरिसकेको र दशैंसम्म कार्यालयमा सिसी जडान भइसक्ने कार्यालय प्रमुख ढुंगानाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्