हेटौंडामा सिभिल इञ्जिनियरिङको डिप्लोमा पढाई हुने



हेटौंडा ।
हेटौंडा–६,चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयले सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
विद्यालयले भदौ अन्तिम साताबाट सिभिल इञ्जिनियरिङमा ३ वर्षे डिप्लोमा कक्षा सञ्चालन गर्ने विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछानेले बताउनुभयो । सीटीईभीटीको सम्बन्धनमा मकवानपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ डिप्लोमा कक्षा सञ्चालन गर्न लागिएको लामिछानेले बताउनुभयो ।
साउन २८ गतेको शिक्षा मन्त्रिस्तरीय निर्णयले देशभर ९५ वटा शैक्षिक संस्थालाई प्राविधिक कक्षा सञ्चालन अनुमति दिइएको थियो । मकवानपुरको सिभिलमा वंशगोपाल र थाहानगरको जनकल्याण माध्यमिक विद्यालयले बालीविज्ञानमा कक्षा सञ्चालन अनुमति पाएको बताइएको छ ।
हाल वंशगोपालमा ३० लाख खर्चेर विज्ञान प्रयोगशाला, इञ्जिनियरिङ विभिन्न विधाका प्रयोगशाला, वर्कसपलगायत पूर्वाधार तयार गरिसकिएको लामिछाने बताउनुभयो । ४८ जनाको सिट रहेको सिभिल इञ्जिनियरिङ एसईई गरेका विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।
सिभिल इञ्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले एसईई परीक्षामा विज्ञान र गणितमा कम्तिमा ‘सी’ र अंग्रेजीमा कम्तिमा ‘डी प्लस’ ग्रेड ल्याएको हुनुपर्ने संकाय प्रमुख इञ्जिनियर रविन पाठकले बताउनुभयो । प्रवेश परीक्षा लिएर विद्यार्थीलाई पढाइने उहाँले बताउनुभयो ।
अध्यापन ६ सेमेष्टरमा हुने पाठकले बताउनुभयो । ३ वर्षे कोर्र्स पढ्न २ लाख ५० हजार रुपियाँ शुल्क लाग्ने प्राचार्य लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार ४८ जनामध्येबाट ५ जनालाई निःशुल्क गरिनेछ । दलित, जनजाति र जेहेन्दारमध्ये छनौट गरी निःशुल्क पढाइने उहाँले बताउनुभयो ।
प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यले सामुदायिक विद्यालयले कक्षा सञ्चालन गर्न लागेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा २० विद्यार्थीका लागि छात्रावासको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्