गलत प्रचार गरेर सरकारलाई प्रहार गर्न खोज्दैछः बस्नेत



भक्तपुर ।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले करका सम्बन्धमा गलत प्रचार गरेर विपक्षीले सरकारलाई प्रहार गर्न खोजेको बताउनुभएको छ ।

भक्तपुरबाट प्रकाशित अनन्त सन्देश राष्ट्रिय साप्ताहिक पत्रिकाको दोस्रो वार्षिकोत्सव कार्यक्रममा उहाँले बाहिर चर्चा भएको जस्तोगरी कर नलगाइए पनि विपक्षीले कुनै विषय नपाएपछि करको विषय उठाएर गलत प्रचार गरेको बताउनुभयो ।

सांसद् बस्नेतले विगतमा राज्यलाई तिर्नुपर्ने करको बेथितिलाई सरकारले व्यवस्थापन गर्न खोज्दा गलत प्रचार गरेको उल्लेख गर्दै सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअनुरुप आयातित वस्तुमा केही कर वृद्धि गरेको बताउनुभयो ।

सरकारले जारी गरेको मुलुकी संहिताले इमान्दार र सक्षम चिकित्सक तथा पत्रकार डराउनु नपर्ने बताउँदै उहाँले बिरामीको दायाँ खुट्टामा समस्या हुँदा बायाँ खुट्टामा शल्यक्रिया गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कानून आवश्यक भएको बताउनुभयो ।

प्रदेश नं। ३ का सदस्य शशिजङ्ग थापा र राजेन्द्रमान श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वसांसद केदार सञ्जेल, जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शोम शर्मा बजगाईँ, पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवाललगायतले सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचारमा जोड दिनुपर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्