पर्वतमा आत्महत्याका घटना बढे, साउन यता ५ जनाले गरे आत्महत्या



नेपाल समाचारपत्र, पर्वत ।
कुस्मा नगरपालिका वडा नं ७ की १८ बर्षिया बबिता सुबेदी गौतम मंगलबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परिन ।
बिहान घर सफा गरेकी गौतम मृत फेला परेपछि परिवारका सदस्यले प्रहरीमा खबर गरे । गएको असारमा मात्रै बिबाह बन्धनमा बाँधिएकी गौतमले आत्महत्या नै गरेको प्रारम्भीक अनुसन्धानबाट देखिएपनि उनले किन आत्महत्या गरिन वा मृत्युको कारण अरु नै हो भन्ने खुल्न सकेको छैन ।
गौतम मात्रै होइन सोमबार बिहान मोदीगाउँपालिका वडा नं ६ गिज्यानमा पनि ३५ बर्षिया मनु नेपाली झुण्डिएको अवस्थामा फेला परिन । उनले पनि आत्महत्या गरेको प्रारभ्मिक अनुसन्धानबाट देखिएको छ ।
गौतम र नेपाली मात्रै होइन पर्वत जिल्लामा पछिल्लो समयमा आत्महत्याका घटना बढ्न थालेका छन । चालु आर्थिक बर्ष २०७५÷०७६ शुरु भएपछि साउन भदौको पहिलो साता भित्र ५ जनाले झुण्डिएर आत्महत्या गरेका छन । आत्महत्या गर्ने मध्ये अधिकाँश महिला छन । जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गकी १९ बर्षिया सचिता आचार्यले पनि असार २६ मा आत्महत्या गरिन । उनको घट्ना समेत मान्ने हो भने डेढ महिनामा ६ जनाले आत्महत्या गरेका छन त्यसमा ४ जना महिला छन । यो घटना असार २६ मा भएपनि साउन ३ मा प्रहरीमा दर्ता भएको थियो ।
जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा ३६ जनाले आत्महत्या गरेका छन भने आर्थिक बर्ष २०७३÷०७४ मा ३१ जना र २०७२÷०७३ मा २९ जनाले आत्महत्या गरेका छन । आत्महत्यामा पनि झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा ठुलो छ । २०७४÷०७५ मा २७ जना, आर्थिक बर्ष २०७३÷०७४ मा २६ जना र २०७२÷०७३ मा २३ जनाले झुण्डिएर आत्महत्या गरेका छन । त्यसपछि नदीमा हामफालेर तथा बिष सेवन गरेर आत्महत्या गर्नेहरुको संख्या रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी भूवनेश्वर तिवारीका अनुसार आत्महत्या गर्ने क्रम बढेर जाँदा यसले डरलाग्दो रुप लिन थालेको छ । पर्वतमा घरेलु हिंसा र आत्महत्या प्रमुख समस्याको रुपमा रहेको छ । यसका बिरुद्ध जनचेतना जगाउने आवश्यकता देख्नछन उनी । समुदाय संग मिलेर आत्महत्याका बिरुद्ध जनचेतना जगाउने कार्ययोजना बनाइएको तिवारीले बताए । ‘हामी समुदाय संग मिलेर जनचेतना जगाउने र आत्महत्यालाई निरुत्साहित गर्ने अभियान चलाउँछौ’ उनले भने ।
आत्महत्या गर्नेहरुमा महिला नै धेरै छन भने बैदेशिक रोजगारीमा गएका परिवारमा यस्तो घटना बढी देखिएको छ । बिदेशमा श्रीमान र श्रीमती रहँदा पर पुरुष संग हुने सम्बन्ध तथा एक आपसमा बढ्ने अबिश्वासका कारण पनि धेरै आत्महत्या बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्