करको विषयमा अनावश्यक भ्रम पार्न खोजियोः प्रधानमन्त्री



संसारमा कम कर र सस्तो बजार नेपाल नै हो

सरोज यादव,  विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषयमा अनावश्यक भ्रम पार्न खोजिएको बताएका छन । कुनकुन सरकारले के के काम गर्ने भन्ने विषय संविधानमा प्रष्ट रहेको र स्थानीय तहलाई पनि कर उठाउने अधिकार भएको उनले बताए ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा संघीय प्रणाली आफूहरुले लागू गरेको बताउँदै सानातिना कमी कमजोरीको विषयलाई लिएर उछाल्न नहुनेमा जोड दिए । संसारमा कम कर र सस्तो बजार नेपाल नै रहेको उनको दाबी थियो ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले विदा दिएको विषयमा विवाद गर्नुपर्ने कारण नभएको पनि बताए । पत्रकारको जिज्ञाशामा उनले प्रदेशले विदा दियो त भइगयो नि विवाद किन गर्नु भन्ने जवाफ दिएका छन । सर्वोच्च अदालतमा दुई जना कायम मुकायम प्रधानन्यायाधिस भएको विषयमा आफूलाई थाहा नभएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले कसैको उलामालाको भरमा अहिलेको सरकार नचल्ने बताएका छन ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको बताएका छन । उनले बाटोमा खाल्डो पर्दा पनि सरकारलाई आलोचना गर्ने र खाल्टो पुर्दा पनि टालटुले सरकार भनेर आलोचना हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्