आठौं समयमा नहुने चिन्ता



बाँके, (नेस)
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ८ गते नेपालगञ्ज रंगशालाको शिलान्यास गर्नुभयो । मन्त्री विश्वकर्माले २५ करोडको प्याराफिट, ट्रयाक एण्ड फिल्डको तामझामका साथ शिलान्यास गर्नुभएको थियो । तर त्यो विधिपूर्वक गरिएको शिलान्यासमा राखिएको इट्टा अहिलेसम्म जस्ताको तस्तै रहेको छ ।

नेपालगञ्ज रंगशाला आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन स्थल हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंसीर २१ देखि २८ गतेसम्म चल्ने खेलकुदको महाकुम्भ मेला यही लगाउने निर्णय गरिसकेको छ ।

‘निर्धारित समयमा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने’ भाषण गर्न खेलकुदमन्त्री विश्वकर्मा, राखेपका सदस्य सचिव केशव विष्टदेखि क्षेत्रीय अध्यक्ष भीम वलीले छोडेका छैनन् ।

शिलान्यास भएको १९ दिन पछि रंगशाला निर्माणको लागि ठेकेदारसँग सम्झौता भएको छ । साढे १८ करोडको प्याराफिट र साढे ६ करोडको ट्रयाक एण्ड फिल्डको काम शुरुसम्म भएको छैन । नेपालगञ्ज रंगशालाको अहिलेको स्थिति हेर्दा समयमा त्यहाँ उद्घाटन हुने छाँट देखिदैन ।

नेपालगञ्ज रंगशालामात्रै होइन, आठौलक्षित अरु ठाउँका भौतिक संरचनाका काम पनि कछुवा गतिमा अघि बढेका छन् । नेपालगञ्ज रंगशाला परिसरमै पौडीपोखरी, सुटिङ्गरेञ्ज, भारोत्तोलन, कभर्डहल मर्मत हुन बाँकी नै छन् । खजुरामा शुक्र भलिबल स्टेडियम, कोहलपुरमा क्रिकेट मैदान, कारकादोमा जुडोका संरचना बनाउन भनिएको छ ।

आठौं राष्ट्रिय प्रतियोगिता नेपालगञ्जलाई मुख्य केन्द्र मानेर आसपासका जिल्लामा पनि हुँदैछ । बर्दिया, दाङ्ग, कपिलबस्तु र रुपन्देहीमा पनि आठौका खेलहरु हुँदैछन् । क्षेत्रीय अध्यक्ष वलीका अनुसार, आठौमा ३५ वटा खेलहरु हुनेछन् । तीमध्ये बाँकेमा १७, बर्दियामा ४, दाङ्गमा ९, कपिलबस्तुमा एक र रुपन्देहीमा ४ वटा खेलहरु खेलाइन्छ ।

प्रतिक्रिया दिनुहोस्