कलंकी–महाराजगंज खण्डको डीपीआर छिट्टै



नेपाल समाचारपत्र
काठमाडौं
चक्रपथ सडक खण्डको पहिलो चरण अन्तर्गत कोटेश्वर–कलंकी खण्ड विस्तारकोको काम अन्तिम चरणमा पुगेको छ । १० दशमलब २ किलोमिटर यस खण्ड चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा बनिरहेको हो ।

भदौ १ गतेबाट कलंकीमा अन्डरपास सुचारु भइसकेको छ भने बल्खुदेखि खसीबजारसम्म बाहेक सडक विस्तारको काम लगभग सम्पन्न गरिसकेको छ । यसरी पहिलो चरणको काम अन्तिम चरणमा पुग्दा चीन सरकारले नै कलंकीदेखि महाराजगंजसम्मको सडक पनि विस्तार गर्ने भएको छ ।
दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको कलंकी–महाराजगंज ८ दशमलब २ किलोमिटर सडक खण्ड यसअघि नै चीन सरकारले बनाइदिने समझदारी पत्रमा चीन र नेपाल सरकारबीच हस्ताक्षर गरिसकेको छ ।

त्यस्तै चिनियाँ प्राविधिकको टोलीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नका लागि अध्ययन सम्पन्न गरिसकेको सडक विभागले जनाएको छ । अहिले चिनियाँ टोलीले डीपीआर तयार पारिरहेको सडक विभागका इन्जिनियर छविलाल पौडेलले बताउनुभयो ।

‘डीपीआर तयार पार्न चिनियाँ टोलीले काम गरिरहेको छ ।,’ उहाँले भन्नुभयो–‘कहिले सम्म रिपोर्ट तयार हुन्छ भन्ने उताबाट जवाफ आएको छैन । आएपछि बाँकी कुरा हुन्छ ।’ डिपिआर चाइनाबाट सडक विभागमा पेस भएपछि यस परियोजनाको लागत, सम्पन्न हुने समय लगायतका कुराहरु थाहा पाइने र कसरी अघि बढ्ने विषयमा टुंगो लाग्ने उहाँले बताउनुभयो ।

नेपाल सरकारले त्यस क्षेत्रको बिजुलीको पोल सार्ने, रुख काट्ने, घर टहरा हटाउने, पानी, ढल सार्ने लगायतका कामका लागि प्रक्रिया अगाडि बढिसकेको काठमाडौं चक्रपथ सुधार परियोजनाका प्रमुख प्रकाश भण्डारीले बताउनुभयो । पहिलो चरणमा विस्तार भैरहेको सडकको बारेमा धेरै कुराहरु उठेकोले दोस्रो चरणको सडक विस्तारमा त्यस्तो नहोस भनेर सचेत रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्