भिडियो कन्फरेन्सबाट अभियुक्तको म्याद थप



गोकुल घोरसाइने, बारा ।
प्रहरीले बारा जिल्लामा भिडियो कन्फरेन्स मार्फत अनुसन्धानको क्रममा थुनामा रहेका अभियुक्तको अदालतबाट म्याद थप गर्ने व्यवस्था मिलाएको छ । ईलाका प्रहरी कार्यालय सिमराले सार्वजनिक अपराध मुद्धाका अभियुक्तहरु जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २० का चाँद महमद, बर्ष १८ का सलामुद्दिन मियाँ र २० बर्षिय समशेर अन्सारीलाई आइतबार भिडियो कन्फरेन्समार्फत जिल्ला अदालत कलैयाबाट अनुसन्धानको लागि म्याद थप गराएको हो ।

अनुसन्धानको लागि थुनामा राखिएका अभियुक्तहरुलाई म्याद थप गर्न लैजाने क्रममा उत्पन्न हुने समस्याको अन्त्य गर्न जिल्ला प्रहरी कार्यालय बाराको समेत समन्वयमा इलाका प्रहरी कार्यालयले जिल्लामा पहिलो पटक भिडियो कन्फरेन्समार्फत अदालतबाट म्याद थप गराएको प्रहरी निरीक्षक शुवाष हमालले बताए । निरीक्षक हमालका अनुसार जिल्ला अदालतमा रहेको प्रहरी युनिटका प्रहरी कर्मचारी प्रहरी सहायक निरीक्षक ओपन्द्र थापाले दिउसो ३ बजे ६ नम्बर न्यायधिस कृष्ण साहको इजलासमा फाइल पेश गरेपछि म्याद थप प्रकृया शुरु भएको थियो ।

न्यायधिस साहले अदालतको आइटी सेक्शनबाट प्रहरी कार्यालय सिमरामा रहेका अभियुक्तहरुसंग करिव २० मिनेटसम्म भिडियोमा कुराकानी र सोधपुछपछि प्रहरीको माग बमोजिमको म्याद थपको पत्रमा हस्ताक्षर गरेका थिए । प्रहरी कार्यालयको तर्फबाट भने निरीक्षक हमाल स्वंवले कम्प्युटरबाट सम्पर्क गराएपछि न्यायधिससंग अभियुक्तहरुको कुराकानी भएको थियो । सार्वजनिक अपराध नियन्त्रण ऐन अन्तरगत मुद्दा चलाइएका अभियुक्तहरुलाई यो दोस्रो पटकको म्याद थप हो ।

यसअघि प्रहरीले उनीहरुलाई सवारी साधानमा राखेर अदालतमा उपस्थित गराएपछि म्याद थप लिएको थियो ।

सर्वसाधारणलाई कुटपिट गरेको अभियोगमा जितपुर बजारबाट एक साताअघि पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानको लागि अदालतले ५ दिनको म्याद थप गरेको छ । ‘म्याद थपमा लैजाने क्रममा सुरक्षा जोखिम हुने गरेको थियो, प्रहरी निरीक्षक हमालले भने–‘अब भिडियो कन्फेरेन्सबाट नै अदालतको म्याद थप लिन सकिने भएपछि अनुसन्धानमा सजिलो भएको छ ।’ भिडियो कन्फरेन्समार्फत अदालतबाट म्याद थप गर्न सकिने भएपछि प्रहरीको साधन, स्रोत र समयको पनि वचत हुने र अपराध अनुसन्धानमा प्रभावकारिता आउने उनले बताए । प्रहरीले इलाका प्रहरी कार्यालय निजगढबाट समेत इन्टरनेटको प्रयोगबाट अभियुक्तको म्याद थप गर्ने प्रकृया शुरु गरेको बताएको छ ।

प्रविधिको प्रयोगबाट म्याद थपको व्यवस्था मिलाइएपछि अनुसन्धान थप प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष रन्जित सिं राठोरको पनि भनाई छ ।

अपराध अनुसन्धानमा प्रहरीले बेहोर्दै आएको झन्जटिलो प्रकृयाको अन्त्य भएको र अदालत टाढा रहेका प्रहरी कार्यालयहरुलाई मुद्दाको कारवाही गर्न भिडियो कन्फरेन्सको प्रयोगले सजिलो पारिदिएको उनको भनाई छ । इलाका प्रहरी कार्यालय सिमरा र निजगढ बारा जिल्ला अदालतबाट करिब ३१ किलो मिटर टाढा दक्षिणमा रहेको छन ।

प्रतिक्रिया दिनुहोस्