मदिरा नियन्त्रण अभियानमा जुटे गड्सेरी युवा



विमल बिष्ट, डोटी ।
स्थानिय सरकारले डोटीमा मदिरा नियन्त्रण गर्न नसकिरहेको अवस्थामा डोटीको जोरायल गाउपालिका ५ गड्सेराका युवाहरु भने मदिरा नियन्त्रण अभियानमा जुटेका छन् । आफनो वडा भरीमा मदिराको बिग बिगी भए संगै मदिरा सेवनले बिकृति फैलाउन थालेको भन्दै युवाहरुको समुह मदिरा नियन्त्रण अभियानमा जुटेको हो ।

सो वडाका वडा सदस्य डम्मर पातलीको संयोजगत्वमा युवाहरुको समुह मदिरा नियन्त्रण अभियानमा जुटेको स्थानिय युवा तथा शिक्षक प्रकाश रावलले बताउनु भयो । उहाँले भन्नु भयो ‘वडा भरीमा मदिराले बिकराल रुप लिन थाल्यो,त्यस्को रोकथामका लागि हामीले मदिरा नियन्त्रण अभियान थालेका हौ ।’

युवाहरुको अभियानलाई सो गाउपालिकाको वडा कार्यालयका जनप्रतिनिधीहरु तथा महिलाले पनि साथ र सर्मथन दिएका छन् । सो वडा भरीमा बिगत केही समय यता देखी खुलेआम रुपमा मदिरा बिक्रि बितरण हुन थालेपछि युवाहरुको अग्रसरमा मदिरा नियन्त्रण अभियान थालिएको हो ।

उक्त वडा कार्यालयमा प्रहरी चौकीको कार्यालय भएपनि प्रहरीले खासै मदिरा नियन्त्रण गर्न नसकेपछि युवाहरु अग्रसर भएर मदिरा नियन्त्रणमा लागेको अर्का स्थानिय युवा चेतबहादुर बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘मदिरा लगायतका अन्य नकारात्मक कृयाकलापहरु रोकिएलान भनेर प्रहरी चौकी स्थापना गरायौ,प्रहरीले पनि खासै नियन्त्रण गर्न सकेन अनि हामी अग्रसर भएका हौ ।’

त्यस्तै युवाहरुले आफनो वडाका बिभिन्न गाउ गाउमा गएर मदिरा पुर्ण रुपमा बन्द गर्ने वा नगर्ने भन्ने बिषयमा स्थानियहरुको राए सुझाब लिएर मदिरा बेचबिखन तथा सेवनमा पुर्ण बन्देज लगाउने अभियान थालेका हुन् । राए सुझाब लिने क्रममा करिब ९४ प्रतिस स्थानियहरुले मदिरा पुर्ण रुपमा बन्द गर्ने सहमती दिएपछि युवाहरु मदिरा नियन्त्रण अभियानमा जुटेको शिक्षक रावलले बताउनु भयो ।

‘हामीले जनमत संग्रह जस्तो तरीकाले सबैको राए सुझाब लिएर मदिरा बन्दको अभियान चालेका हौ, उहाँले थप भन्नु भयो ‘हामीले जनताको पुर्ण साथ र सर्मथन छ,मदिरा बेच्ने र खानेलाई कार्वाहि गरेरै छोड्छौ ।’ मदिरा सेवनका कारण सो वडामा कयौको अकालमै ज्यान गईसकेको स्थानियबासीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्