रुकुमका सरकारी तथा गैरसरकारी निकायले सुचना सार्वजनिक गर्न थाले



धनवीर दाहाल, रुकुम ।
राष्ट्रिय सूचना दिवसको अवसरमा रुकुम (पश्चिम) स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुले सूचनाको हकसम्बन्धी ऐन र नियमावलीमा उल्लेख गरे बमोजिमको सूचना सार्वजनिक तथा अद्यावधिक गरेका छन् । ऐनबमोजिम सार्वजनिक निकायले स्वतः प्रकाशन तथा प्रशारण गर्नुपर्ने २० शीर्षकका सूचनाहरु सार्वजनिक गरिएको हो । सूचना सार्वजनिक र अद्यावधिक गर्ने सम्बन्धमा विहीबार बसेको सरोकारवालाहरुको बैठकले सार्वजनिक गरेका निकायहरुले अद्यावधिक गर्ने र नगरेकाले सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

कतिपय कार्यालयले प्रिन्ट गरेर सूचना पार्टीमा केहीले आफ्नो वेवसाईटमार्फत सूचना अद्यावधिक गरेको बताईएको छ । उक्त विवरणहरुमा कार्यालयको नाम, कार्यप्रकृति, सूचना अधिकारीको विवरण, खर्चको विवरण, सेवा लिँदा लाग्ने शुल्क र प्रक्रिया लगायतका विषय समेटिएको छ । जिल्ला स्थित सरकारी कार्यालयहरुबाट प्रायः सबैको वेवसाइट भएकोले त्यसमै अपडेट गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

कतिपय कार्यालयमा अपडेट गर्ने कार्य जारी रहेको उहाँले बताउनुभयो । सरकारी निकायले मात्र नभई सबै सार्वजनिक निकायले सूचना सार्वजनिक गर्नुपर्ने प्रजिअ रेग्मीको भनाई छ । जिल्लामा सूचना सार्वजनिक गर्नका लागि पहल गरेको संस्था हरप्लेसले आफ्नो सूचना पार्टीमा २० प्रकारका सूचना सार्वजनिक गरेको संस्थाका अध्यक्ष ललित बुढामगरले जानकारी दिनुभयो ।

सूचना सुशासनको न्यूनतम आधार भएकोले यसको उचित पहुँच नागरिकसम्म पु¥याउन आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै रुकुमेली समाज विकास केन्द्रले आफ्नो वेवसाइटबाट सूचना अपडेट गरिएको कार्यकारी निर्देशक भिमबहादुर केसीले बताउनुभयो ।

सबै गैरसरकारी संस्थाहरुलाई सूचना अद्यावधिक र सार्वजनिक गर्न आफूहरुले अनुरोध गरेको र सोही अनुसार कार्यान्वयन भएको गैसस महासंघ रुकुमका अध्यक्ष नारायणकुमार शाहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्