नेयमारका लागि चर्को रकम



लन्डन, (एजेन्सी)
ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारलाई भित्र्याउन स्पेनिस महारथी रियल मेड्रिडले चर्को रकम तिर्न तयार भएको जनाइएको छ ।

नेयेमारलाई किर्तिमानी मुल्य २ सय ७० मिलियन पाउण्ड तिर्न तयार रहेको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताएका हुन् । गत सिजन बार्सिलोनाबाट नेयेमार विश्वकिर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा पिएसजी पुगेका थिए । यदि उक्त रकममा रियलले नेयमारलाई अनुबन्ध गरेमा लगालग दोस्रो सिजन उनी कीर्तिमानी रकममा अनुबन्ध हुनेछ ।

रियलले क्रिस्टियानो रोनाल्डोको विकल्पमा नेयमारमाथि नजर लगाएको हो । तर, अहिलेसम्म रोनाल्डोको विकल्पका रुपमा रियलले खेलाडी अनुबन्ध गर्न सकेको छैन । रोनाल्डो हालै १ सय १२ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका थिए । रोनाल्डोको स्थान गेरेथ बेलले लिने विश्वास गरिएपनि गत साता युइएफए सुपर कपको फाइनलमा एथ्लेटिको मेड्रिडसँग ४–२ ले पराजित भए पछि रियलले रोनाल्डोको विकल्प महसुस गरेको छ ।

पिएसजीले रियलको प्रस्ताव स्वीकार गरेमा नेयमार पुनः स्पेन फर्कने निश्चित हुनेछ । पिएसजी कतारको स्वामित्वमा रहेको र नेयमारलाई अनुबन्ध गर्न कतार स्पोर्टस् इनभेस्टमेन्टको प्रायोजनमा क्लबले बढि पैसा तिरेको खुलेको छ । गत सिजन नै पिएसजीले क्लियन एम्बाप्पेलाई १ सय ६७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

उक्त विषयमा युइएफएको अनुसन्धान समेत जारी रहेको छ । यदि पिएसजीले आर्थिक फेयर प्लेको नियम विपरित खेलाडी अनुबन्ध गरेको पाइएमा युइएएफले कारबाही गर्न सक्नेछ । अनुसन्धान चलिरहेका बेला पिएसजीले नेयमारलाई बेच्न सक्ने अनुमान समेत गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्