ब्याडमिन्टनमा मिश्रित नतिजा



जकार्ता, (एजेन्सी)
१८औं एसियाली खेलकुदअन्तर्गत पहिलो दिन नेपाली ब्याडमिन्टन पुरुष टोलीले टिम इभेन्टसको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

आइतबार अन्तिम १६ को खेलमा नेपालले पाकिस्तानलाई ३–१ ले हराएको हो । नेपाललाई रत्नजित तामाङ र दिपेश धामीले जित दिलाएका हुन् । रत्नजित र दिपेशले सिंगल्स र डबल्स खेल जितेका थिए । जबकी नवीन श्रेष्ठले सिंगल्स खेल गुमाएका थिए ।

इन्डोनेसियामा जारी एसियाडमा नेपाली महिला ब्याडमिन्टन टोली भने टिम इभेन्टस्तर्फ माल्दिभ्ससँग ३–२ ले हा¥यो । नेपालले दुई खेल जित्ने क्रममा नङ्सल तामाङ र जेसिका गुरुङले माल्दिभ्सका खेलाडीलाई हराएका थिए । अर्को एक सिंगल्स खेलमा रसिला महर्जन पराजित भएकी थिइन् ।

तेक्वान्दोमा पराजित
एसियाडअन्तर्गत नेपाली तेक्वान्दो खेलाडीले आईतबार जित हात पार्न सकेनन् । पदक आशा गरिएको तेक्वान्दो खेलमा महिला टोली सिना माडेन लिम्बु, निता गुरुङ र पार्वती गुरुङको टोली चाइनीज ताइपेइको टोलीसँग पुम्से महिला टिम इभेन्टको क्वार्टरफाइनलमा हारेको थियो ।

त्यस्तै पुम्सेतर्फ पुरुष व्यक्तिगत इभेन्टमा कमल श्रेष्ठले ताइपेइका चेन चिंगसँग अन्तिम १६ मा हार बेहोरे । महिला व्यक्तिगत इभेन्टमा पार्वती गुरुङ पनि ताइपेइकै खेलाडीसँग हारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्