रत्नको जन्मोत्सव भव्य हुने



ईश्वरराज ढकाल, काठमाडौं
आज सोमबारबाट ९० वर्ष पूरा गर्नुभएकी पूर्ववडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९१औ जन्मोत्सव भव्य हुने भएको छ । दरबार हत्याकाण्ड भएको १७ वर्षपछि भब्य रुपमा मनाउन लागिएको यो पहिलोपटक हो ।

पूर्वराजा ज्ञानेन्द्रले आमाको ९१औ जन्मजयन्ती भब्य रुपमा मनाउने तयारी गर्नुभएको हो । करिब दुई साता लामो थाइल्याण्ड बसाइपछि यही १ गते नेपाल फर्कनुभएका ज्ञानेन्द्रले आमा रत्न ९० वर्ष पूरा गरेको उपलक्ष्यमा उहाँको जन्मदिनलाई भब्य रुपमा मनाउन लागेको हो । जन्मोत्सवमा पूर्वराजाका आफन्त सबै सहभागी हुनेछन् । साझ ५ बजेदेखि आयोजना हुने कार्यक्रममा करिब ४ सयको हाराहारीमा आफन्त उपस्थित हुने निर्मल निवासले जनाएको छ ।

जन्मदिनलाई भब्य बनाउन पूर्वराजा ज्ञानेन्द्र आफैं खटिनुभएको छ । जन्मदिनमा होटल सोल्टीबाट खानाको व्यवस्था गरिएको छ । नारायणहिटी परिसरमा रहेको महेन्द्र मञ्जिल परिसरमा मनाउन लागिएको जन्मदिनमा आफन्त र पूर्वराजाका अति घनिष्टबाहेक अन्यलाई निम्तो दिइएको छैन । दरबार हत्याकाण्डपछि पनि महेन्द्र मञ्जिलमै बस्ने गर्नुभएकी रत्न अहिलेसम्म निर्मल निवासले दरबारले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी हुने गर्नुभएको छैन ।

दशैको टीकामा समेत पूर्वराजाका परिवार महेन्द्र मञ्जिलमै उपस्थित हुने गरेका छन् । ‘नौ दशक पार गरेकाले यो जन्मदिनलाई भब्य रुपमा मनाउन लागिएको हो’ –निर्मल निवास स्रोतले नेपाल समाचारपत्रसंग भन्यो । ‘बिहानको कार्यक्रम केही छैन, बेलुकी जन्मदिन मनाउन लागेका छौं’ –स्रोतले भन्यो ।

९० वर्ष पूरा भएपछि उहाँको स्वाथ्यमा कुनै गडबडी भएको छैन । रत्नको नियमित स्वाथ्य परीक्षण गर्न हरेक मंगलबार निजी चिकित्सक डा खगेन्द्र श्रेष्ठ र मुटु सम्बन्धी समस्या भए डा. मृगेन्द्रराज पाण्डे महेन्द्र मञ्जिलमै पुग्ने गर्नुभएको छ । ‘नियमित स्वाथ्य परिक्षण हुने भएकाले उहाँलाई हालसम्म कुनै रोग लागेको छैन’ –रत्नकी निजी सचिव शम्भु अधिकारीले भन्नुभयो ।

उमेरको कारण केही समस्या भए पनि स्वाथ्यको कारण केही समस्या देखिएको छैन । बिहान ९ बजे उठ्ने, नित्यकर्म गरी पूजापाठ गर्ने, एक गिलास दूध पिउने र करिब ३ बजे खाना खाने उहाँको दिनचर्या हो । भजनकीर्तन सुन्ने अनि दिनभर आराम गर्ने बेलुकी बजे एक गिलास दुध फलफूल खाने गर्नुभएकी रत्नको स्वाथ्य तन्दुरुस्त रहेको छ । राजा महेन्द्रको स्वर्गारोहणपछि शाकाहारी बन्नुभएका पूर्वमुमा वडामहारानी रत्नको मुख्य खाना नै दूध हो ।

उहालाई भेट्न पूर्वराजा ज्ञानेन्द्र हप्ताको एक दिन अनिवार्य रुपामा पुग्ने गर्नुभएको छ । ‘हप्ताको एक दिन त अनिवार्य आउनुहन्छ, आवश्यक परेमा जुन दिन पनि पुग्ने गर्नुभएको छ’ –स्रोतले भन्यो । रत्नलाई भेट्न हरेक दिन परिवारका एक न एक सदस्य महेन्द्र मञ्जिल पुग्ने गरेका छन् ।

पूजापाठ गर्ने ,सुसारेसँग बोलचाल गर्ने र कोही आफन्त भेट्न आए सामान्य बोलचाल गर्ने गर्नुभएका रत्नको ९१औ जन्मदिन मनाउने इच्छा छोरा ज्ञानेन्द्र नै गरेकाले स–परिवारका साथ भब्य रुपमा जन्मदिन मनाउन लागिएको हो । दरबार हत्याकाण्डपछि सधै निरास देखिनुहुने उहाँ पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडेपछि करिब पाँचपटक मात्र महेन्द्र मञ्जिल छाड्नुभएको छ ।

सामान्यतया सजिलै हिँडडुल गर्न सक्नुभए तापनि अहिले बसेपछि उठ्न गाह्रो हुन थालेको छ । बुढ्यौलीको कारण केही समस्या देखिए तापनि उहाँको शरीरमा केही भएको छैन । करिब ६ जना सुसारेसहित ३५ जना कर्मचारीको साथमा बस्ने गर्नुभएका रत्न यसअघिका जन्मदिनलाई सामान्य रुपमा मनाउने गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्