‘सहकारी उत्पादनमूलक कार्यमा लाग्नुपर्छः मन्त्री अर्याल



भक्तपुर ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीले पैसा थुपार्ने कार्यमा मात्रै नलागी उत्पादनमूलक कार्यमा पनि लाग्नुपर्ने बताउनुभएको छ ।

मध्यपुरथिमिस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिको ११ औँ वार्षिक साधारणसभामा उहाँले लगानी र उत्पादनमूलक कार्यमा सहकारी सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले लगानी र उत्पादनबाटै देशको समृद्धि हुने चर्चा गर्दै सहकारी अब देशको समृद्धिको सहयात्री हुनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, “देश सङ्क्रमणकालीन अवस्थामा रहेको छ, सहकारी ऐन पनि सङ्क्रमण मै छ, सङ्क्रमणमा नै रहे पनि देशलाई समृद्ध बनाउने सन्दर्भमा भने सबै एक भएर जानुपर्छ ।” सहकारीले अब उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ, अब सहकारीले पनि लगानी र उत्पादनको दायरा बढाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा संस्थाका अध्यक्ष राममसुन्दर श्रेष्ठले संस्थाको हालसम्म शेयर पूँजी रु दुई करोड ५७ लाख २५ हजार पुगेको, संस्थाको बचत रु ३१ करोड ४० लाख ८४९ रहेको, रु २६ करोड ६२ लाख ७४ हजार ६१ ऋण लगानी गरेको र यसवर्ष रु ८७ लाख ८८ हजार ४५ रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोबिन्द लाखाजु, स्फेकका अध्यक्ष श्यामसुन्दर श्रेष्ठलगायतले सहकारीले अन्य क्षेत्रमा पनि लगानी गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक, एसईई उतीर्ण विद्यार्थीलाई कार्यक्रममा सम्मान गरिएको थियो भने विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत वितरण गरिएको थियो । त्यस्तै मध्यपुर थिमि मै सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लि।को रजत महोत्सव सम्पन्न भएको छ ।

संस्थाले आज आयोजना गरेको महोत्सवको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सहकारी संस्थाहरु देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै सहकारीले रोजगारी र आर्थिक वृद्धिमा टेवा पु¥याएको बताउनुभयो । उहाँले सहकारी संस्थाले देशको गरिबी निवारणमा मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सहकारीमा सङ्कलन भएको पूँजीलाई उचित व्यवस्थापन गर्दै औद्योगिक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेफ्स्कुनका पूर्वअध्यक्ष एवं सहकारीविद् कैलाशभक्त प्रधानाङ्गले सहकारी संस्थाहरु सहकारी सिद्धान्तमा चल्न नसके सहकारीको अस्तित्व नरहने बताउनुभयो । त्यसअवसरमा संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले संस्थाले विगत २५ वर्षे यात्रामा गरेको उपलब्धिबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा संस्थाले सहकारीविद् कैलाशभक्त प्रधानाङ्गलाई नगद रु १० हजार २५ सहित ‘सहयोगी सहकारी तारा सम्मान–२०७५’ बाट सम्मान गरेको छ । साथै संस्थाको स्थापनाकालीन सदस्यहरु, शेयर सदस्यहरु, ज्येष्ठ सदस्यहरु, उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्