सरकारले अनावश्यक रुपमा कर बढायोंः पुर्वमन्त्री विश्वकर्मा



विनोद सिंह विष्ट, बैतडी ।
सरकारले अनावश्यक रुपमा कर बढाएको भन्दै त्यसको बिरोध गरिने नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभएको छ । पुर्व आपुर्ती तथा वाणिज्यमन्त्री समेत रहेका विश्वकर्माले निर्वाचनका बेला जनतासामु गरेका बाचा पुरा गर्न अहिले सरकारले नसकेको दाबी उहाँले बताउनुभयो । नेपाली कांग्रेस बैतडीमा देखिएको विवाद समाधानका लागि केन्द्रिय प्रतिनिधि टोलीको नेतृत्व गर्दै आईतवार यहाँ आउनुभएका नेता विश्वकर्माले सरकारका गलत गतिविधिका विरुद्ध बलियो प्रतिपक्षीका रुपमा प्रस्तुत हुने बताउनुभयो ।
जिल्लामा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल गर्नका लागि भोली जिल्ला स्तरीय भेला डाँकिएको छ । भेलामा गाउँ तथा नगरपालिका स्तरीय समितिका प्रमुख, क्षेत्रीय समितिका पदाधिकारी, भातृसंस्थाका प्रमुखहरुको सहभागिता रहने कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो ।
भोली जिल्लाभेलाबाट प्राप्त सुझावका आधारमा भाद्र ५ गते बस्ने जिल्ला कार्यसमितिको बैठकले विवाद टुंग्याउने कांग्रेस बैतडीले जनाएको छ । जिल्ला सभापति नरेन्द्रसिंह थापाले उपसभापतिमा चतुरबहादुर चन्दलाई मनोनयन गरेपछि नेपाली कांग्रेस बैतडीमा विवाद बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्