यूरोपसम्म पुग्छ नेपालको चरेश



नरेन्द्र केसी, दाङ ।
दाङमा अहिलेसम्मकै ठूलो मात्रामा लागु पदार्थ चरेश बरामद भएको छ । रुकुम पूर्वबाट लुकाइछिपाइ ल्याएर विभिन्न स्थानमा बिक्रीका लागि लैजाने क्रममा ६० किलोग्राम चरेशसहित पाँच जना पक्राउ परेका छन् ।
उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा रुकुम पश्चिम मुसीकोट ११ का ४५ बर्षीय प्रेमबहादुर घर्ती, सल्यान दार्मा गाउँपालिका ५ का ३५ बर्षीय डिल्लीराज चन्द, रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपािलका १ काल्दुङ घर भइ हाल दाङ घोराही उपमहानगरपालिका १५ रतनपुर बस्ने ३० बर्षीया रुपा घर्ती पुन, रुकुम पूर्व भूमे गाउँपालिका २ का २७ बर्षीया सपना पुन बुढा र सोही ठाउँका ध्रुवजङ बुढालाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले शर्माले जानकारी दिनुभयो ।
उनीहरुलाई लागु औषध ओसारपसार ऐनअन्तर्गत मुद्दा गर्ने तयारी गरिएको छ । ऐनमा १० केजीभन्दा बढी लागु औषध ओसारपसारमा लागेको भेटिए दुइ देखि १० बर्षसम्म कैद र १५ हजार देखि एक लाखसम्म जरिवाना हुने ब्यवस्था छ ।
पत्रकार सम्मेलनमा केही अभियुक्तले आफुहरु भरिया मात्र भएको दाबी गरे पनि प्रहरीले यसपटक पक्राउ परेकामध्ये धेरै स्वयं चरेश कारोबार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । उनीहरु निकै अनुभवी पनि देखिएका छन् । भदौ १ गते दाङको लमही नगरपालिका ९ अमिलियामा अवैध लागुऔषध चरेशको कारोबार भइरहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खिटएको टोलीले सोही स्थानबाट पश्चिम रुकुम मुसीकोटका प्रेमबहादुर घर्ती र सल्यानका डिल्लीराज चन्दलाई प्रहरीले पक्राउ गरेको थियो । दुबै जनालाई शंकास्पद अवस्थामा पक्राउ गरी उनीहरुले प्लाष्टिकमा लुकाइराखेको १० केजी चरेश बरामद गरिएको प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । उनीहरुको बयानका आधारमा थप अभियुक्त र ५० केजी चरेश पक्राउ परेको हो ।
लागु औषध कारोवारीहरुले रुकुम पूर्वमा उत्पादन भएको चरेश पैदल बाटोबाटै पिठ्यूँमा बोकेर दाङ पु¥याउने गरेको पाइएको छ । दाङको अमिलियासम्म उनीहरुले पैदल बाटोबाटै पु¥याएको खुलेको प्रहरीले जनाएको छ ।
रुकुम पूर्वमा बढी उत्पादन हुने चरेश दाङहुँदै विभिन्न स्थानमा पु¥याउने गरेको यसअघि नै खुलिसकेको बिषय हो । अब दाङस्थल मात्र होइन, प्रयोगस्थल पनि हो भन्ने प्रहरीले अध्ययनले देखाएको छ । ‘मैले यहाँ आएपछि केही अध्ययन गरिरहेको छु, दाङमा लागु औषधको प्रयोग गर्ने संख्या पनि ठूलै छ भन्ने देखिएको छ, त्यसैलाई यसलाई प्रयोगस्थलको रुपमा लिन लिने स्थित छ’– प्रहरी प्रमुख शर्माले भन्नुभयो ।
नेपालबाट भारतहुँदै यूरोपसम्म चरेश पुग्ने गरेको देखिएको छ । नेपालको चरेश निकै प्राकृतिक हुने भएकाले यूरोपमा निकै महंगोमा विक्री हुने गरेको पनि पाइएको छ । दोस्रो विश्वयुद्ध ताका नेपालको चरेश वैधानिकरुपमै यूरोपका विभिन्न देशमा पु¥याइने भएकाले त्यसकै निरन्तरता स्वरुप अहिले पनि लुकाइछिपाइ भारतको बाटो हुँदै यूरोप पुग्ने गरेको पाइएको छ । लागु पदार्थ ओसारपसार ऐन आउनुअघि चरेश खुलाको ओसारपसार हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्