गर्मीको कारण मध्ये तराईको जनजीवन प्रभावित



बारा ।
गर्मी अत्याधिक बढेका कारण बारासहित मध्ये तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । एक सातादेखि पानी नपरेपछि चर्को घाम लागेर गर्मी बढेपछि सर्वसाधरणको दैनिकी अस्त व्यस्त बनेको हो ।
सीमरा विमानस्थलमा रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार भदौ १ गतेपछि बारा र पर्सा आसपासका जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । कार्यालयका अनुसार गत बिहीबार सिमरामा ३६ , शुक्रबार ३८, शनिबार ३६ र आज अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम विज्ञान विभाग फिल्ड कार्यालयका प्रमुख केशव खरेलले जानकारी दिनुभयो । शुक्रबार १ गते अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको थियो । चर्को घाम लाग्दै आएका कारण स्थानीय सडक तथा बजारमा मानिसहरुको चहल पहल पनि निक्कै कम देखिन थालेको छ ।
चर्को गर्मी र प्रचण्ड घामका कारण ज्यलादारीमा काम गर्ने मजदुरलाइ सास्ती भएको छ । ग्रामीण क्षेत्रमा खेतमा काम गर्ने कृषि मजदुर तथा शहर बजारमा रिक्सा र ठेला चलाउने मजदुरहरुको जनजीवन पनि गर्मीका कारण कष्टकर बनेको छ ।
‘टाउँको नै फुट्ने खालको उर्खाउलो गर्मी छ, बाराको जितपुर बजारमा आइतबार बिहान ठेला गाडा चलाउदै गरेको अवस्थामा भेटिएका जनकजी साहले दिउँसो धेरै चर्को घाम लाग्ने गरेकाले बिहानी र बेलुकी मात्रै कामको खोजीमा निस्कने गरेको बताउनुभयो । अत्याधिक गर्मी बढेपछि यस क्षेत्रका विद्यार्थी पनि सकसमा परेका छन । बाराका अधिकांश सामुदायिक र निजी विद्यालयका कक्षा कोठामा विद्युतीय पंखा नभएको हुदा दिउँसोको समयमा विद्यार्थीले सास्ती बेहोर्नु परेको हो ।
गर्मी अत्याधिक बढेका कारण जिल्ला अस्पताल, सामुदायिक र निजी स्वास्थ्य क्लिनीकहरुमा बिरामीको चाप पनि बढेको छ । जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र र निजी क्लिनिकमा पछिल्ला दिनमा बिरामीको चाप बढेको समुदायिक अस्पताल निजगढका चिकित्सक विनय सहाले बताउनुभयो । गर्मी बढेदेखि अस्पतालमा भाइरल ज्वरो र झाडा पखालाका बिरामीहरुको संख्या बढेको उहाले जानकारी दिनुभयो । गर्मीबाट बच्न पातलो कपडा लगाउन र पानी तथा झोलयुक्त खाना बढी सेवन गर्न डाक्टर साहले सुझाव दिनुभएको छ । ‘सकभर दिउसो घरभित्रै बस्नुपर्छ, उहाले भन्नुभयो, निस्कनै परे पूरा शरिर ढाक्ने गरी कपडा लगाउनुपर्छ ।’ उहाले गर्मीको असरबाट बच्न सर्वसाधारणलाई छाताको प्रयोग गर्न, चिसो र रसिलो तरल पदार्थहरु बढी सेवन गर्न सल्लाहा पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्