८१ शिक्षकको काज सरुवा खारेज



मोतीराम तिमल्सिना, काभ्रे ।
तत्कालिन शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ्गले ग्रैह् कानूनी रुपमा काज सरुवा गरिएका शिक्षकहरुको दरवन्दी पुरानै स्थानमा हुने भएको छ । शिक्षकहरुको काज सरुवा खारेज भएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताए ।
आईतबार जिल्लामा रहेका १३ वटै स्थानीय सरकारका प्रमुखहरुको उपस्थितीमा शिक्षा समन्वय इकाई काभ्रेपलाञ्चोकले आयोजना गरेको बैठकमा समन्वय समितिका प्रमुख केसीले कानून विना गरिएका सबै खालका काज सरुवा खारेज गरेको बताए । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख छन् । साउन २० गते उक्त समितिको बैठकले खारेज गर्ने निर्णय कार्यान्वयनका लागि स्थानीय सरकारका प्रमुखहरुको बैठक आयोजना गरिएको प्रमुख केसीले बताए । गुरुङ्गले कानुन विपरित कार्यालयमा नै नबसी होटलमा कोठा लिएर ठाडो निवेदनका आधारमा शिक्षकहरुको मनलाग्दी काज सरुवा गरेका थिए । शिक्षक सरुवा गर्दा कार्यालयले उठाउने गरेको टिप्पणी समेत थिएन ।
नेपाल शिक्षक महासंघ, शिक्षक संघ र शिक्षक संगठन लगायत शिक्षकसँग सम्वन्धित पेशागत संघ संगठन उक्त सरुवाका विरोध नगरी मौन समर्थनमा थिए । जिल्लामा विद्यालयमा आवश्यक भएको दरवन्दी भन्दा २८ वटा दरवन्दी धेरै छन् । बैठकले दरवन्दी भन्दा धेरै कार्यरत २८ शिक्षकहरुलाई पनि हटाउने निणर्य गरेको छ । राहत शिक्षकलाई स्थायीमा र स्थायी शिक्षकलाई राहतमा सरुवा गरिएको अवस्थाका सबै शिक्षकहरु पनि पहिलाकै अवस्थामा हुने गरी पुराना सबै निर्णयहरुलाई बदर गर्ने निर्णय गरेको छ । जिल्लामा आवश्यक भएका स्थानमा शिक्षक नभएको र शिक्षक भएको स्थानमा विद्यार्थी नभएको भन्दै स्थानीय सरकारले शिक्षकहरुको दरवन्दी मिलानमा हस्तक्षेप नगर्ने चेतावनी दिएका थिए ।
‘संविधानले दिएको अधिकार प्रयोग गरौ, कसैले कसैको अधिकार हस्तक्षेप नगरौ, मनलाग्दी नियुक्ति गरिएका सबै शिक्षकहरुको नियुक्ति खारेज गरिनु पर्छ भन्ने हाम्रो अडान पुरानै हो’–नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भने । ब्याञ्जुको भनाईलाई समर्थन गर्दै बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर लगायतले तत्काल नियुक्ति खारेजको माग गरेका थिए । बनेपा नगरपालिकाका प्रमुख बादेले बनेपामा धेरै भएका शिक्षकहरुलाई तत्काल ब्यवस्थापन गर्न माग गरेका थिए । ‘धेरै भए भन्दै काज सरुवा बनेपामा गर्ने शिक्षा अधिकारीलाई कारवाही गर्नु पर्छ’–नगर प्रमुख बादेले भने ।
कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ, बेथान्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, रोशी गाउँपालिका अध्यक्ष डिबी लामा, तेमाल गाउँपालिका अध्यक्ष सलामसिं लामा लगायतले शिक्षकहरुको ब्यवस्थापन हुन नसक्दा सरकारी विद्यालयको गुणस्तरमा सुधार ल्याउन नसकेको बताएका थिए । कार्यक्रममा शिक्षकहरुको पेशागत संघका अध्यक्ष अश्विनी चौलागाई, शिक्षक संगठनका अध्यक्ष श्याम पाण्डेय, शिक्षक संघका अध्यक्ष रमेशराज महत, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भिमसेन गौतम लगायतले शिक्षकहरुको ब्यवस्थापनका विषयमा सुझाव दिएका थिए । शिक्षा विकास समन्वय इकाईका डिकबहादुर राईले विद्यालयहरुको विवरण, शिक्षकहरुको विवरण, विदार्गीहरु, दरवन्दी सम्वन्धी समस्या लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्