हत्याको घटना रहस्यमय बन्दै तीन महिला, लामो समयसम्म पत्ता लागेन दोषी



रामधन राई, खोटाङ ।
खोटाङमा तीन महिलाको श्रंखलाबद्द हत्या भएको लामो समय बित्दा समेत हत्यामा संलग्न दोषी पत्ता नलाग्नुले घटना रहस्यामय बनेको छ । २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र त्यसपछि क्रमशः भएको दुई महिलाको हत्यामा संलग्न दोषी पत्ता अझै पत्ता लाग्न नसक्दा घटना रहस्यमय बनेको हो ।
किशोरी तामाङको हत्याबारे अनुसन्धान गर्दागर्दै २०७४ साल जेठ १६ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्या भएको थियो ।
हत्याको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाए पनि तीनै जनाको हत्यामा संलग्न दोषीलाई अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन डिएसपी नविनकिशोर प्रधान हुँदै डिएसपी लोकदर्शन थापाको सरुवा हुँदासम्म महिलाको हत्यामा संलग्न दोषीको पहिचान हुन नसकेको पीडितको गुनासो छ । घटना घटेको लामो समय बित्दा समेत घटनाको कारण र संलग्न दोषी पत्ता नलाग्दा पीडित परिवार थप पिडित बनेका छन् ।
यसैबीच, नेकपा खोटाङका नेताले तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन् । नेकपा (माओबादी केन्द्र)का नेता देवान किराती नेतृत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेट गरी तीन महिलाको हत्यारालाई पत्ता लगाएर कानुनी कारबाहीका लागि हालै ध्यानाकर्षण गराएका हुन् ।
भेटमा गृहमन्त्री थापाले महिलाको हत्याका विषयमा सत्यतथ्य पत्ता लगाएर कारबाहीका लागि प्रतिबद्धता जनाउनुभएको नेता किरातीले जनाउनुभयो । बिभत्स हत्याको घटना भएको लामो समयसम्म दोषी पत्ता नलाग्दा झनै त्रास बढेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्