राजपा न सत्तापक्ष न प्रतिपक्ष



file pic

गंगा बराल, काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई समर्थन गरे पनि उसको भूमिका न सत्तापक्ष न प्रतिपक्षको अवस्था देखिएको छ ।
सरकारलाई समर्थन गरे पनि आफूहरुले राखेका माग पूरा नभएको भन्दै राजपाले सरकारको गतिविधि हेरेर मात्र बसिरहेको छ । राजपाका संसदीय दलका नेता महन्थ ठाकुरले संविधान संशोधन हुनुपर्ने, आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएको झूटा मुद्दा फिर्ता गर्नेतर्फ सरकारले चासो नदेखाएको आरोप लगाउनुभयो ।

‘सरकारले के गरेको छ हेरिरहेका छौं, पहिलो कुरा हामीले उठाएका न्यूनतम सर्त पूरा गर्नुपर्ने हुन्छ’, ठाकुरले भन्नुभयो– ‘निर्वाचनमा उठेर चुनाव जित्न मिल्ने शपथ खुवाउन नमिल्ने कानुन के खालको हो बुझ्न सकिएन ।’ संसद्मा कहिलेकाहीं केही सांसदले बाहेक सरकारको आलोचना पनि गरेका छैनन् ।

कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरीले शपथ खानुभएको छैन । टीकापुर घटनाको आरोपित भन्दै उहाँलाई शपथ गराइएको छैन । राजपाका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभाका सांसद वृजेशचन्द्र लालले टीकापुर घटनामा चौधरीको कुनै दोष नरहेको दाबी गर्नुभयो । ‘उहाँमाथि लगाइएको मुद्दा झूटा हो त्यो घटनामा उहाँको कुनै संलग्नता छैन’, उहाँले भन्नुभयो– ‘सरकारले अहिले राम्रो भूमिका खेल्न सकेको छैन, विभिन्न घटनाको प्रतिवेदन सरकारले तयार पार्न सकेको छैन त्यसैले पनि अलमल छ ।’

उहाँले सरकारले बिनाकारण लगाएको झूटा मुद्दा फिर्ता लिनुपर्ने दायित्व सरकारको भएको बताउनुभयो । उहाँले आफूहरुका माग पूरा भएको खण्डमा सरकारमा सहभागिताको विषयमा पछि फेरि छलफल गर्न सकिने पनि जनाउनुभयो । संवैधानिक व्यवस्था अनुसार अहिले प्रधानमन्त्री सहित २५ मन्त्री रहेको सरकार छ । केन्द्रमा २५ भन्दा बढी मन्त्री रहने कल्पना संविधानले गरेको छैन ।

‘हामीले प्रधानमन्त्रीको रुपमा मतदान मात्र गरेका हौं, अन्य त्यस्तो कुनै सम्झौता छैन’ –लालले भन्नुभयो । राजपाले सरकारमा सहभागी हुन मन गरे पनि तत्कालका लागि मन्त्रालय छैन । कि सत्तारुढ दलले आफ्ना भागमा परेका केही मन्त्रालय दिनुपर्छ कि संविधान संशोधन नै गरेर मन्त्रालयको संख्या थप्नुपर्छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले लामो समयसम्म छलफल गरेपछि सरकारमा सहभागिता जनाएको थियो ।

शुरुमा धेरैवटा मन्त्रालय दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सहमति जनाए पनि पछि पार्टी एक भएपछि एक उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री, स्वास्थ्य राज्यमन्त्री र शहरी विकासमन्त्री पाएको छ । अध्यक्ष यादव आफैं उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री हुनुभएको छ । केही दिन अघि मात्र सुरेन्द्रकुमार यादव स्वास्थ्य राज्यमन्त्री बन्नुभएको छ । मोहम्मद इस्तियाक राई शहरी विकासमन्त्री रहनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फोरम नेपाल र राजपाबीच तालमेल भएको थियो । २ नम्बर प्रदेशमा फोरमले मुख्यमन्त्री पाएको छ भने सभामुख राजपाले । राजपाले यो प्रदेशमा राज्यमन्त्री पनि बनाएको छ ।

राजपा सांसद लक्ष्मणलाल कर्णले सरकारबाट समर्थन फिर्ता नलिएको प्रतिपक्षी पार्टी राजपा भएको बताउनुभएको छ । राजपामा प्रतिनिधिसभामा १७ सांसद छन्, जसमध्ये कैलाली–१ बाट निर्वाचित चौधरीको शपथ भएको छैन । राष्ट्रियसभामा फोरम र राजपाका २÷२ सांसद छन् ।

दुवै सदनमा राजपा विपक्षीको स्थानमा बस्दै आएको छ । राजपाका नेताहरु हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्तले प्रतिनिधिसभाको निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन जितेका छन् । त्रिपाठीले नवलपरासी (पश्चिम–१) बाट र गुप्तले कपिलवस्तु–२ बाट निर्वाचन जितेका हुन् । सूर्य चिन्ह लिएर उठेका राजपाका अन्य नेता भने पराजित भएका थिए ।

२०७४ वैशाख ७ गते ६ वटा पार्टी मिलेर राजपा भएको थियो । राजपामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर हुनुहुन्छ भने एकता अघि पार्टी अध्यक्ष रहेका राजेन्द्र महतो, शरदसिंह भण्डारी, महिन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव अध्यक्ष मण्डलका सदस्यका रुपमा रहेका छन् । २०७० सालको संविधानसभामा महिन्द्र राय यादवबाहेक अरु ५ जना नेताले निर्वाचन हारेका थिए भने यो प्रतिनिधिसभामा सबैले निर्वाचन जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्