बाढीका कारण आठबिसकोटका ७ वटा वडा जोखिममा



नगरपालिका कार्यालय समेत उच्च जोखिममा

धनवीर दाहाल, रुकुम ।
अविरल बर्षाका कारण गिँजागाड खोलामा बाढी आएपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका कार्यालय तथा राडी बजार समेत जोखिममा परेको छ । लगातारको वर्षापछि आएको बाढीले नगरपालिका कार्यालय वरपरका घरमा क्षति र्पुयाएको छ ।

बाढी नगरपालिकाको आँगनसम्म पुगेपछि कार्यालय भित्रका सरसामान अन्यत्र सारिएको छ । लगातारको बर्षाले गिँजागाड खोलामा आएको बाढीका कारण कुनै पनि बेला कार्यालयमा क्षति हुन सक्ने भएकोले सामानहरु सारिएकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा रहेको महत्वपूर्ण कागजात, इलेक्ट्रोनिक सामग्रीहरु अन्यत्रै सारिएको छ ।

बाढीले सभा कक्ष, कार्यालय भवन, बन्दै गरेको अर्को भवन पनि बाढीको उच्च जोखिममा परेको छ । यसै गरी आठबिसकोट नगरपालिकाको वडा नम्वर ६, ७, ८, ९, १०, ११ र १२ वडाका मुख्य बस्तीहरु उच्च जोखिममा परेका छन् ।

गिँजागाड खोला, खारखारा ठूली भेरी नदी आसपासमा अझै खतरा रहेकाले ढुक्कसँग बस्ने अवस्था नभएको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्