चिलबाबुको नयाँ शैली



काठमाडौं महानगरका मेयर शाक्य र ललितपुरका मेयर महर्जन के अलमलिन्छन् कुन्नी कहिल्यै उनीहरुको प्रसंशा सुनिन्न, उनीहरु माथि सँधै आलोचनाका शब्द मात्रै बर्सिन्छन् । कतिपयले तर्क गर्छन्–‘काठमाडौंमा त्यस्तै हो, ललिपुरका महर्जनले चाहिँ केही गर्छन् है ।’ तर महर्जन पनि खैं के, खै के भइसक्या छन् ।

आफ्नो नगरमा तत्काल कुनै परिवर्तन नहुने सुनिश्चित भएर हो क्यार, महर्जन अहिले फरक भाषा शैलीमा प्रस्तुत हुन थाल्या छन् । उनलाई अंग्रेजी मोह ह्वात्तै बढ्या छ, सामान्य र निरक्षर सेवाग्राहीदेखि महानगरका कर्मचारीलाई अंग्रेजीमा जवाफ फर्काउन पछि पर्दैनन् । ‘यू ह्याव नो बेसिक नलेज अफ इङलिस्, ट्राई टु स्पीक इन इङ्लिस’ भन्दै उनले कर्मचारीलाई गाली गर्न थाल्या धेरै भयो ।

नगर र नगरबासीलाई यूरोपेली उचाइमा पु¥याउन अंग्रेजी भाषा अनिवार्य गर्न खोज्या हुन् कि के हो बुझ्न गाह्रो छ । तर मर्हजनको कार्यशैली देख्दा लाग्छ, उनको कार्यकालमा ललितपुर यूरोपको कुनै भू–भाग झैं बन्छ । तर धरहराको ठहर छ, अहिलेकै शैलीलाई उनले निरन्तरता दिए भने आफू चाहिँ यूरोपेली नागरिक झैं बन्छन् अनि नगर र नगरबासी चाहिँ…।

‘के गर्नु, काम गर्न पाइएन हेर्नुस न मन्त्रालयले अप्ठ्यारो पा¥यो, अहिलेसम्म स्थानीय कानून बनेन्, केन्द्रले पनि उसै गरी दुःख दिएको छ’ भन्ने तर्क गर्दै उनले एक वर्ष विताए । अनि एक वर्षसम्म धेरैपटक चीलगाडीमा विदेश सयर गरेपछि उनका नगरबासीले ‘चीलबाबु’ समेत भन्न भ्याएका थिए क्यार !

प्रतिक्रिया दिनुहोस्